काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा पुँजीबजार विकास र सुधारका लागि आफूले गरेका कामहरु सार्वजनिक गरेको छ। 

धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा चालु आर्थिक वर्षमा भएका कामहरु सार्वजनिक गरिएको छ। धितोपत्र बोर्ड यो वर्ष पुँजीबजार विकास र सुधारका लागि भएका १३ वटा काम सार्वजनिक गरेको छ। 

यस्ता छन् धितोपत्र बोर्डबाट भएका कार्यहरु

  • वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकलाई सार्वजनिक निष्काशनमा दश प्रतिशत सेयर आरक्षणको व्यवस्था गरिएको छ। यस व्यवस्थाले देशको शोधनान्तर स्थिति सबल बनाउँदै विदेशबाट विप्रेषण औपचारिक वा वैधानिक माध्यमबाट भित्र्याउनलाई प्रोत्साहन तथा सहयोग भई समग्र अर्थतन्त्रमा टेवा पुग्ने देखिन्छ। बोर्डबाट सार्वजनिक निष्कासनमा वैदेशिक रोजगारी गएका नेपालीहरुलाई आरक्षण गर्ने नीति कार्यान्वयनमा ल्याउने क्रममा हालसम्म २४ वटा कम्पनीलाई ४७ लाख २६ हजार ४ सय २४ कित्ता सेयर रु. ७२ करोड ५३ लाख ५३ हजार ८ सय ३५ रकम बराबरको सेयरको आरक्षण सहित निष्कासन हुने गरी अनुमति प्रदान गरिएको छ।
  • धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्तामैत्री एवं अन्तर्राष्ट्रियस्तरको प्रविधिसहितको क्षमतायुक्त बनाई धितोपत्रमा लगानी गर्ने लगानीकर्ताको हित संरक्षण गर्नका निम्ति तथा अर्थतन्त्रमा रहेका स्थापित बास्तविक क्षेत्रका संगठित संस्थालाई धितोपत्र बजारमा भित्र्याई राष्ट्रिय पुँजी निर्माण र परिचालनलाई सहजीकरण गर्नका लागि निजी क्षेत्रको लगानीमा थप एक धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र प्रदान गरी धितोपत्र बजारको सेवालाई विश्वसनीय तथा गुणस्तरीय, प्रतिष्पर्धी हुने गरी विकास र विस्तार गरी धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न विद्यमान धितोपत्र बजार सञ्चालन नियमावली, २०६४ मा दोस्रो संशोधन गरी बोर्डबाट धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्न बोर्डबाट सिफारिस गर्ने सम्बन्धी निर्देशिकासमेत लागू गरी सिफारिस प्रदान गर्ने कार्य प्रकृयामा रहेको छ।
  • वस्तु विनिमय बजार सञ्चालनका लागि कम्पनी संस्थापना गर्नका लागि पूर्वस्वीकृति दिने प्रक्रिया अगाडि बढाइएको छ। वस्तु विनिमय बजार सञ्चालनमा आएपश्चात् कृषिलगायत अन्य वस्तुहरुको प्राइस डिस्कभरीमा सहयोग पुग्नुका साथै सरकारको राजस्वमा बृद्धि हुने, वस्तु उत्पादकलाई बजारसम्म पहुँच पुयाउन, मूल्य स्थिरता कायम गर्न, लगानीकर्तालाई लगानीको वैकल्पिक उपकरण उपलब्ध हुन्छ।
  • धितोपत्र दलाल व्यवसायीलाई गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाई धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच अभिवृद्धि गर्न निश्चित मापदण्ड पुर्याएका संस्था तथा कम्पनीलाई निश्चित समयावधि भित्र अनिवार्य अनुमतिपत्र दिने व्यवस्थासहित खुला प्रवेश तथा बर्हिगमन हुने गरी धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा व्यापारी) नियमावली, २०६४ मा संशोधन गरी लागू गरिएको छ। सोहीबमोजिम ४३ कम्पनीलाई नियमावलीबमोजिमको पूर्वाधार तयार गर्नका लागि पत्राचार गरिएकोमा आवश्यक पूर्वाधार तयार गरेका कम्पनीहरुलाई अनुमतिपत्र प्रदान गरिरहेको छ।
  • स्वदेशी तथा विदेशी पुँजीमार्फत नवीनतम ज्ञान, सीप क्षमता भएका वा नयाँ वस्तु, सेवा, प्रविधि वा बौद्धिक सम्पत्तिसँग सम्बन्धित व्यवसाय वा नवीनतम उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल फन्ड परिचालन गर्न १२ वटा कम्पनीलाई कोष व्यवस्थापककको अनुमति प्रदान गरिएको छ। बोर्डबाट अनुमतिपत्र प्रदान भएसँगै विशिष्टीकृत कोष व्यवस्थापकबाट प्राप्त योजनामध्ये रु. ५ अर्बको योजना सञ्चालनका लागि स्वीकृति प्रदान गरिएको छ।
  • धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने–गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ मिति २०७९–०७–२४ गते देखि लागू गरिएको छ। उक्त निर्देशिका लागू भएपश्चात संगठित संस्था एकआपसमा गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी प्रक्रिया छिटोछरितो हुनुका साथै सेयर कारोवार रोक्का रहने अवधि कटौती भई लगानीकर्तालाई कारोबार छिटो गर्न सकिने सुविधा प्राप्त भएको छ। 
  • बैंक वा वित्तीय संस्थाले धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी सुविधा उपलब्ध गराएबापत लिने सेवा शुल्कमा ९५ प्रतिशत, बैंक वा वित्तीय संस्थाले निष्काशन तथा बिक्री प्रबन्धकलाई बुझाउनुपर्नेमा शुल्कमा ८० प्रतिशत तथा धितोपत्रको केद्रीय निक्षेप सेवा प्रदायकले सुविधा उपलब्ध गराएबापत लिने सेवा शुल्कमा ५० प्रतिशत घटाइको। यसबाट सार्वजनिक निष्कासनमा लगानी गर्ने लगानीकर्ताहरुको लागत कमी हुन गई लगानी गर्न प्रोत्साहन हुने अवस्था आएको छ।
  • साना तथा मझौला व्यवसायलाई धितोपत्र बजारमा प्रवेश गर्न छुट्टै एसएमईज प्ल्याटफर्म सञ्चालनका लागि आवश्यक नियमावली तर्जुमा गरी स्वीकृतिका लागि नेपाल सरकारसमक्ष पेस गरिएको छ। साना तथा मझौला व्यवसायलाई धितोपत्र बजारमा प्रवेश गर्न छुट्टै एसएमईज प्ल्याटफर्म सञ्चालनका लागि आवश्यक नियमावली तर्जुमा गरी स्वीकृतिका लागि नेपाल सरकारसमक्ष पेस गरिएको छ।
  • धितोपत्र दोस्रो बजारमा गैरआवासिय नेपालीलाई भित्र्याउन आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्ने सम्बन्धमा अध्ययन गर्न एक समिति गठन भएको छ। 
  • धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ ले तोकेको अवधि पूरा गरिसकेका जलविद्युत समूहका सूचीकृत संगठित संस्थाहरुको सेयर संरचनाको विद्यामान अवस्था र सोको प्रभावका सम्बन्धमा अध्ययन गर्न एक समिति गठन भएको छ। 
  • धितोपत्र दलाल व्यवसायीको शाखा कार्यालय खोल्नेसम्बन्धी कार्यलाई थप व्यवस्थित, पारदर्शी तथा सहज बनाउन यससम्बन्धी निर्देशिका लागू गरी शाखा कार्यालय खोल्न स्वीकृति प्रदान गरिएको छ। हाल मुख्य कार्यालयका अतिरिक्त ९५ वटा शाखा कार्यालयमार्फत देशका मुख्य सहरमा सेवा उपलब्ध भएको छ।
  • बोर्डले वित्तीय साक्षरता, धितोपत्र बजार शिक्षा तथा सचेतनासम्बन्धमा विभिन्न प्रकाशन, रेडियो कार्यक्रम, टेलिभिजन कार्यक्रम तथा देशका विभिन्न स्थानहरुमा लगानीकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएको छ।
  • धितोपत्र सम्बन्धी ऐन तथा सो अन्तर्गत बनेका नियम, विनियम, निर्देशिका तथा निर्देशन पालना नगर्नेलाई ऐनको व्यवस्था बमोजिम कारवाही गर्दै आईरहेको। साथै, धितोपत्र सम्बन्धी ऐन, २०६३ बमोजिम भित्री कारोवारसम्बन्धी कसूरको सम्बन्धमा दुई जना व्यक्तिका विरुद्ध काठमाण्डौ जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
  •