काठमाण्डौ । बिल गेट्स, जेफ बेजोस र एलन मस्कजस्ता धनाढ्यहरु प्रायः आफ्नो सम्पत्तिलाई लिएर चर्चामा रहने गर्दछन्। यी धनाढ्यहरु पछिल्ला कयौँ वर्षदेखि विश्वको सबैभन्दा धनाढ्य भइसकेका छन्। तर यी तीनजनै धनाढ्यको सम्पत्ति जोडे पनि अफ्रिकाका राजा मुसाको बराबर पनि हुँदैन।

क्यालिफोर्निया विश्वविद्यालयमा इतिहासका सहप्राध्यापक रुडोल्फ बुच वेयर भन्छन्, ‘मुसाको सम्पत्तिको समकालीन विवरण यति आश्चर्यचकित पार्ने खालको छ कि उनी कति धनी र शक्तिशाली थिए भनेर अनुमान गर्न गाह्रो हुन्छ।’

यस्तै प्रतिक्रिया ज्याकोब डेभिडसनको पनि रहेको छ। उनले पनि मुसा विश्वकै सबैभन्दा धनी व्यक्ति भएको बताएका थिए। 

सन् २०१२ मा अमेरिकाको एउटा सेलिब्रेटी वेबसाइटले मुसाको सम्पत्ति ४०० बिलियन डलर भएको अनुमान लगाएको थियो। तर कयौँ इतिहासकारहरुका अनुसार मुसासँग यति धेरै धनसम्पत्ति थियो कि उनको सम्पत्तिलाई एउटा संख्यासम्म सीमित गर्न लगभग असम्भव छ। 

१४ औँ शताब्दीका पश्चिमी अफ्रिकी शासक मुसाको जन्म सन् १२८० मा भएको थियो। उनका भाइ मनसा अबु बक्रले १३१२ सम्म शासन गरेका थिए। १४ औँ शताब्दीका सिरियाली इतिहासकार शिबाब अल–उमरीका अनुुसार अबु–बक्र एट्लान्टिक महासागर र यस पछाडि विश्वलाई लिएर धेरै नै उत्सुक रहने गर्दथे। 

अबु–बक्रले एट्लान्टिक महासागर तरेर बाँकी विश्व नियाल्नका लागि २००० पानी जहाज, हजारौँ महिला–पुरुष र दासहरुका साथ जाने निधो गरे। तर उनी आफ्नो मातृभूमिमा कहिल्यै पनि फर्किएनन्। यसपश्चात मनसा मुसाले सन् १३१२ मा गद्दी सम्हाले र उनको शासनकालमा मालीले विकासको गति लियो। 

मुसाले २४ भन्दा धेरै सहरहरुमाथि कब्जा समेत गरेका थिए। उनको साम्राज्य २ हजार माइलसम्म विस्तार भएको थियो। मुसाको साम्राज्यमा सुन र नुनजस्ता महत्वपूर्ण स्रोतहरुको भण्डार रहेको थियो। 

बेलायती संग्रहालयका अनुसार मनसा मुसाको शासनकालका बेला मालीसँग प्राचीन विश्वको सुनको लगभग आधी हिस्सा थियो र यो सबै मुसाको थियो। सुन र अन्य वस्तुहरुको व्यापार हुने प्रमुख व्यापारित केन्द्रहरु पनि उनको क्षेत्रमा रहेका थिए। 

मुसाले यस्तो समयमा शासन शत्ता ग्रहण गरेका थिए, जुन बेला युरोपका देशहरु गृहयुद्ध र साधनस्रोतको कमीको सामना गरिरहेका थिए। त्यही समयमा सुन र नुनजस्ता महत्वपूर्ण स्रोतका कारण मालीको साम्राज्य निकै विकसित भएको थियो। विश्वलाई उनको तागतको अन्दाजा तब भयो जब उनले हज यात्रा जाने निर्णय गरे। 

रिपोर्टका अनुसार हज जानका लागि मुसा ६० हजार मानिसका साथ निस्किएका थिए। जसमा १२ हजार दासहरुसमेत समावेश थिए। यसबीचमा यात्राका क्रममा सहारा मरभूमि र मिश्र देश पनि आयो। केवल तीन महिनामात्रै काइरोमा बिताएका मुसाले यस क्षेत्रमा यति सुन बाँडे कि मिश्रमा सुनको मूल्यले आकाश छायो र यस क्षेत्रको अर्थतन्त्र १० वर्षसम्म मुसाको प्रभावबाट बाहिर आउन सकेन। 

मुसा कयौँ इस्लामिक दार्शनिकसँग मक्का गएका थिए। यसमा अबु अस हक पनि समावेश थिए। रिपोर्टका अनुसार मुसाले उनलाई२०० किलो सुन उपहार दिएका थिए। जसको मूल्य अहिलेको समयमा ८ मिलियन डलरभन्दा धेरै हुन्छ। 

अमेरिकी कम्पनी स्मार्ट एसेटका अनुसार मुसाको हज यात्राका कारण मध्यपूर्वलाई १.५ बिलियन डलरबराबरको नोक्सान भएको थियो। तर मुसाले हज यात्राबाट फर्किंदा मिश्रको अर्थतन्त्रलाई उकास्न सहयोग गरेका थिए। 

स्कुल अफ अफ्रिकन एन्ड ओरियन्टल स्टडिजका विद्यार्थी लुसी डुरेनका अनुसार मुसाले यति धेरै सुन बाँडेका थिए कि मालीका जनता उनीसँग क्रोधित हुन लागेका थिए। यति धेरै सुन बाँडेर पनि उनको कुल सम्पत्तिमा खासै फरक परेको थिएन। 

मुसाको मृत्यु सन् १३३७ मा ५७ वर्षको उमेरमा भएको थियो। उनको मृत्युपश्चात शासन सत्ता उनका छोराहरुले सम्हालेका थिए। तर उनीहरुको शासनकालमा मुसाको साम्राज्य धरमराउन थाल्यो। यसपश्चात यस क्षेत्रमा युरोपेली वस्तुहरुको आगमनले अवस्था झनै बिग्रन पुुग्यो। 

आज माली विश्वको सबैभन्दा गरिब देशका रुपमा रहेको छ। – एजेन्सी