काठमाण्डौ । नेपाल राष्ट्र बैंकले प्रचलित कानुनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधानहरु पालना हुन सक्ने व्यक्तिको खाता नखोल्न र खोलेको भए बन्द गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।
राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै यस्तो व्यवस्था थप गरेको हो।
थप गरिएको व्यवस्थाअनुसार प्रचलित कानुनबमोजिम ग्राहक पहिचानसम्बन्धी प्रावधानहरु पालना हुन नसक्ने व्यक्तिको हकमा खाता नखोल्ने वा व्यावसायिक सम्बन्ध स्थापना नगर्ने वा खाता खोलेको भए व्यावसायिक सम्बन्ध अन्त्य गर्नुपर्ने उल्लेख छ। यस्तो अवस्थामा संस्थाले आवश्यक ठानेमा शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पेस गर्ने निर्देशन दिइएको छ।
कुनै ग्राहक सम्पत्ति शुद्धीकरण वा आतंकवादी क्रियाकलापमा संलग्न रहेको शंका लागि त्यस्तो ग्राहकको पहिचान प्रक्रिया अगाडि बढाउँदा शंका गरेको विषय ग्राहकले आभाष हुने देखिएमा संस्थाले ग्राहक पहिचान प्रक्रिया अगाडि नबढाई शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन वित्तीय जानकारी इकाइमा पेस गर्नुपर्नेछ।
यसअघि एकीकृत निर्देशनमा यस्तो व्यवस्था थिएन।
यसैगरी बैंक तथा वित्तीय संस्थाले यस निर्देशनअन्तर्गत तर्जुमा गरिएको नीति तथा कार्यविधिमा आतंकवादी क्रियाकलाप तथा आमविनाशकारी हातहतियारको निर्माण तथा विस्तारमा वित्तीय लगानी नियन्त्रण सम्बन्धमा छुट्टै प्रावधान राख्नुपर्नेछ। साथै, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को परिच्छेद ६ख. मा उल्लेखित व्यवस्था पालना हुने गरी आतंकवादी क्रियाकलाप तथा आम विनाशकारी हातहतियारको निर्माण तथा विस्तारमा वित्तीय लगानी सम्बन्धमा निरन्तर अनुगमन गर्नका लागि कार्यप्रणाली अवलम्बन गर्नुपर्ने राष्ट्र बैंकले निर्देशन दिएको छ।
7 hours ago
12 hours ago
12 hours ago
12 hours ago
12 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago