काठमाण्डौ । नेपाल सरकारको स्वामित्वमा स्थापित नेपाल पुनर्बीमा कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमाससम्म अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफामा सामान्य मात्र बढोत्तरी गरेको छ । 

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्मको लेखापरीक्षण भएको वासलातकाअनुसार निर्जीवन व्यवसायबाट १ अर्ब ९९ लाख खूद नाफा आर्जन गरेको थियो भने जीवन बीमा व्यवसायबाट ११ करोड ६७ लाख नाफा गरेको थियो । 

आर्थिक वर्षको २०७७/७८ को चौथो त्रैमाससम्ममा कम्पनीले निर्जीवन व्यवसायबाट १ अर्ब १ करोड खूद नाफा आर्जन गरेको छ । समीक्षा अवधिमा जीवन व्यवसायबाट १५ करोड ४३ लाख नाफा आर्जन गरेको छ । 

कम्पनीको निर्जीवन व्यवसायतर्फको व्यवस्थापन खर्च घटेको छ भने जीवन व्यवसायतर्फको व्यवस्थापन खर्च बढेको छ । 

अन्य खर्च अन्तर्गत निर्जीवन र जीवन व्यवसायतर्फ नै बढेको देखिएको छ । 

यो कम्पनीको आयव्यय हिसाबबाट सारिएको नाफा अन्तर्गत निर्जीवन व्यवसायतर्फ ८३ करोड ५२ लाख र जीवन व्यवसायतर्फ २४ करोड ५० लाख रहेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी क्रमशः १ अर्ब १३ करोड र १७ करोड ७२ लाख रुपैयाँ रहेको थियो । 

लगानी, कर्जा तथा अन्यबाट हुने आय निर्जीवन व्यवसायतर्फ ८८ करोड ६४ लाख रहेको छ भने जीवन व्यवसायतर्फ १ करोड ८ लाख रहेको छ । अघिलले वर्ष यस्तो आय निर्जीवन र जीवन व्यवसायतर्फ क्रमशः ८० करोड ४७ लाख र १ करोड ७४ लाख रुपैयाँ रहेको थियो ।

यो कम्पनीको समीक्षा अवधिसम्म निर्जीवन व्यवसायतर्फको बीमा कोषको आकार बढेर २ अर्ब ४६ करोड पुगेको छ भने जगेडा तथा कोषको आकार २ अर्ब ७१ करोड रुपैयाँको भएको छ । अघिल्लो वर्षको यही अवधिसम्म निर्जीवनतर्फको बीमा कोषको आकार २ अर्ब ३ करोडमा सीमित थियो भने जगेडा तथा कोषको आकार  २ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो । 

कम्पनीले समीक्षा अवधिमा निर्जीवन व्यवसायतर्फ ८ अर्ब २३ करोड खूद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिसम्म ५ अर्ब २२ करोड आर्जन गरेको थियो । 

यस्तै, जीवन व्यवसायतर्फ समीक्षा अवधिमा १ अर्ब ५८ करोड बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षसम्म यस्तो आर्जन १ अर्ब ७ करोडमा सीमित थियो । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी(वार्षिककीकृत) ११ रुपैयाँ ६९ पैसा, पीई अनुपात १३६.२९ गुणा, प्रतिसेयर नेटवर्थ १५८.१७ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य २९१.३० रुपैयाँ कायम भएको छ । 

कम्पनीको अपरिस्कृत वित्तीय विवरण प्रकाशित गर्ने क्रममा मुख्य समस्या र चुनौति समेत उल्लेख गरेको छ । 

कम्पनीले समावेश गरेका मुख्य समस्या र चुनौतिहरुमा व्यवसायमा कोरोना भाइरसको प्रभाव, गुणस्तरीय एवम् दक्ष जनशक्तिको अभाव र व्यवसायमा त्यसको असर, राष्टिय स्तरमा उद्योग, व्यवसाय र व्यापारमा अपेक्षाअनुरुप बढोत्तरीमा कमी र प्राकृतिक प्रकोपबाट सिर्जना हुनसक्ने संभावित जोखिम रहेका छन् ।