काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अर्थतन्त्रका मुख्य सूचकहरुको तस्विर सार्वजनिक गरेको छ । 

केन्द्रीय बैंकले यो अवधिमा आर्थिक तथा वित्तीय अवस्थाको तस्विर सार्वजनिक गरेको हो । 

जसअनुसार अर्थतन्त्रको मेरुदण्ड मानिएको विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १२.६ प्रतिशतले र अमेरिकी डलरमा ७.६ प्रतिशतले बढेको देखिएको छ । 

समीक्षा अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले वृद्धि भई रु.२५८ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.१ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा चालु खाता रु.३४ अर्ब ३६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु.२२ अर्ब ४७ करोडले घाटामा रहेको थियो । 

यस्तै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३.३ प्रतिशतले कमी आई रु.३ अर्ब ५६ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी २६.८ प्रतिशतले कमी आई रु.२ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.३ अर्ब ६८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु.३ अर्ब ९९ करोड रहेको थियो।

यो अवधिमा शोधनान्तर स्थिति रु.१०१ अर्ब ९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.१४ अर्ब ४३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १२ करोड ७८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ८५ करोड १० लाखले बचतमा रहेको छ ।

आर्थिक वर्ष २०७७/७८ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १५.६ महिनाको वस्तु आयात र १४.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.० प्रतिशत, ११७.३ प्रतिशत र ३२.९ प्रतिशत रहेका छन्। २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.७ प्रतिशत र ३३.१ प्रतिशत रहेका थिए ।

निर्यात बढ्यो, आयात घट्यो 
आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कुल वस्तु निर्यात १४.३ प्रतिशतले वृद्धि भई रु.३१ अर्ब ५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्पm क्रमशः १९.४ प्रतिशत र ७.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्पm ५३.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, अलैंची, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छाला लगायतका वस्तुको निर्यात घटेको छ । 

आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कुल वस्तु आयात १२.७ प्रतिशतले घटेर रु.२९२ अर्ब २७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.३ प्रतिशतले घटेको थियो । वस्तु आयात गरिनेमुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ६.६ प्रतिशत, २६.९ प्रतिशत र १९.० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, हवाईजहाज तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

केन्द्रीय बैंकका अनुसार कोभिड–१९ संक्रमणका कारण अर्थतन्त्र प्रभावित भएको छ । महामारीको असर वाह्य व्यापार, राजश्व परिचालन, पुँजीगत खर्च र बैंकिङ्ग क्षेत्रको कर्जा लगानीमा बढी देखिएको छ ।

कोभिड–१९ महामारीका कारण बन्दाबन्दीका सुरुवाती महिनादेखि आर्थिक गतिविधि प्रभावित भई औद्योगिक कच्चा पदार्थ, ईन्धन, पूँजीगत वस्तु, यातायातका साधन तथा पार्टस्लगायतका वस्तुहरुको आयात घटेकोमा असोज महिनामा त्यस्ता वस्तुहरुको आयात बढेको छ ।

महंगी घट्यो
२०७७ असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.७९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.२१ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.५० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २.४६ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ३.३५ प्रतिशत, तराईमा ४.४६ प्रतिशत, पहाडमा ३.०३ प्रतिशत र हिमालमा ४.३९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७६ असोजमा यी क्षेत्रहरुमा क्रमशः ८.१४ प्रतिशत, ५.७५ प्रतिशत, ४.८९ प्रतिशत र ५.११ प्रतिशत मुद्रास्फीति रहेको थियो ।