काठमाण्डौ । निकै शानदार मत पाई पार्टी सभापति र दुई तिहाई मतका साथ संसदीय दलको नेतामा जित हासिल गरेपछि पत्नी आरजू राणाको उपचारको बाहानामा दिल्ली गएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, केही नेपाली नेता र भारतीय एजेन्सीका प्रतिनिधिहरुबीच ओली सरकार गिराउने उद्देश्यले रणनीति बनाउन गोप्य छलफल राखिएको खुलासा भएको छ । 

अबको निर्विकल्प प्रधानमन्त्रीको रुपमा हेरिएका कांग्रेस सभापति देउवाको यो पटकको ‘नितान्त व्यक्तिगत’ भनिएको भारत भ्रमणको क्रममा केही रहस्यमय खिचडीहरु पाक्ने दिल्लीस्थित स्रोतले जनाएको छ । 

स्रोतका अनुसार शेरबहादुर देउवा एकसाता दिल्लीमा बस्नेछन् । पत्नीको उपचारका लागि जाने भनिए पनि देउवा र उनको टिमले त्यहाँ भारतीय संस्थापन पक्षका अधिकारी, भाजपाका उच्च पदस्थ नेता, कांग्रेस आईका नेता र महत्वपूर्ण सरकारी अधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम राखिएको छ । यही तयारीका लागि देउवाअघि नै दिल्लीमा कांग्रेस सांसद अमरेशकुमार सिंह पुगेर सेटिङ मिलाइसकेका छन् । 

देउवाको गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज, प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तासीन भाजपाका महत्वपूर्ण नेता, रअको प्रमुख तथा वरिष्ठ अधिकारी र अन्य एजेन्सीका अधिकारीहरुसँग समेत गोप्य बैठकहरु तय भएका छन् । ती बैठकमा सहजीकरणका लागि अमरेशकुमार सिंह बाहेक खुमबहादुर खड्का समेत तैनाथ हुनेछन् ।

देउवाको यसपटकको दिल्ली भ्रमणको क्रममा कांग्रेसलाई परिचालन गरेर पछिल्लो समय चिनसँग बढी हिमचिम बढाएको केपी ओली नेतृत्वको सरकारलाई जुनसुकै तिकडम गरेर पनि भारतीय पक्ष ढाल्न चाहन्छ । यसैका लागि देउवालाई आगामी प्रधानमन्त्रीको रुपमा उभ्याउने र यसका लागि कांग्रेसलाई कन्भिन्स गराउने भारतीय रणनीति रहेको स्रोतहरुले बताएका छन् । कांग्रेस नेतृत्वको नयाँ सरकार बनाउने र त्यसका लागि ओली सरकारलाई गिराउने यो खेलमा मधेशवादी दलका नेताहरु समेत सामेल छन् । भारतीय संस्थापन पक्षले एमाओवादीका अध्यक्ष प्रचण्डलाई समेत नयाँ सरकार गठनका लागि कन्भिन्स गराइसकेको बताउने गरेको सूत्रको भनाई छ । 

जेठअघि नै सरकार गिराउने रणनीति
भारत पछिल्लो समय केपी ओलीको चीन भ्रमण र सो क्रममा भएको पारवहन लगायतका सम्झौताबाट चिढिएको छ । केपी ओलीले दिल्ली भ्रमणको क्रममा मधेशवादीहरुको माग पूरा गर्ने र सीमांकनको विवाद चाँडो भन्दा चाँडो सुल्झाउने समेत प्रतिबद्धता जनाएका थिए । तर भारतीय पक्षले केपी ओलीले आफूहरुलाई दिल्लीमै आएर चक्मा दिएर गएका र नेपाल फर्किएपछि ठूलो तामझामका साथ चीन भ्रमणमा गई त्यतातर्फ निकटता बढाएको भन्दै आक्रोश व्यक्त गर्ने गरेको छ । नेपालमा रहेका भारतीय राजदूत रञ्जित रोयले समेत विभिन्न फोरमहरुमा ओलीको चीनसँग बढेको निकटताको आलोचना गर्ने गरेका छन् । कतिपय पार्टीहरुमा समेत रोयले केपी ओली सरकार गिराउनुको अब विकल्प नभएको हाकाहाकी बताउने गरेका छन् । 

सूत्रका अनुसार देउवा, खूमबहादुर खड्का लगायतको उपस्थितिमा भारतले जेठअघि नै ओली सरकार गिराउने खिचडी पकाउनेछ । जेठमै सरकारले आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने भएकोले त्यसअघि नै ओली सरकारलाई गिराउनुपर्ने निश्कर्षमा भारतीय अधिकारी र नेपालका कांग्रेस नेता समेत सहमत रहेका बुझिएको छ । ओलीलाई बजेट ल्याउनै नदिए उनले बजेटमार्फत ल्याउने लोकप्रिय कार्यक्रम, चीनसँग भएका कतिपय सम्झौताको कार्यान्वयनका लागि बजेटको विनियोजन लगायतका विषय रोकिने र यसले आफूलाई फाइदा पुग्ने भारतीय पक्षको बुझाई छ । भारतीय पक्षले कांग्रेस सभापति देउवासँग दिल्लीमा भेट गर्ने क्रममा बैशाख १५ गतेबाट सुरु हुने बजेट अधिवेशनमा समेत असहयोगीको भूमिका खेल्न निर्देश गर्ने तयारी भइरहेको समेत बुझिएको छ । बाहिर बोल्दा सरकार गिराउने खेलमा आफूहरु नरहेको भनी देउवाले बताउने गरे पनि उनलाई पार्टी सभापति जिताउन भारतीय पक्षले लगाएको गुन तिर्नुपर्ने बाध्यता छ । कांग्रेस महाधिवेशनमा देउवालाई मात्र भारतले ५ करोड रुपैयाँ आर्थिक सहयोग गरेको थियो । भारतीय खुफिया एजेन्सी रअ र अन्य एजेन्सीका प्रतिनिधिहरुको एउटा जम्बो टोली नै महाधिवेशन अवधिमा काठमाण्डौमा बसेर कोइराला लिगेसी अन्त गर्ने र देउवालाई जसरी भए पनि सभापतिमा जिताउन परिचालन भएको थियो । भारतीय योजना र लाइन अनुसार नै देउवाले पार्टी सभापति र महामन्त्रीमा चाहि पौडेल प्यानलका सशांकले शानदार जित हासिल गरेका थिए । 
 
पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले भारतीय हस्तक्षेपको विरोध गर्दै आइरहेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विभिन्न देशका भ्रमणको क्रममा नेपालको विपक्षमा अभिव्यक्ति दिएपछि प्रम ओलीले ‘नेपाल भूपरिवेष्ठित देश भएको र भारतवेष्ठित देश चाहि नभएको’ बताएका थिए । त्यसपछि पनि उनले ‘भारत रिसाउँछ भनेर चीनसँग सम्बन्ध नै नराख्ने मूर्खता आफूले नगर्ने’ बताउने गरेका छन् । नेपालका प्रधानमन्त्रीको यो अभिव्यक्तिले समेत भारतीय संस्थापन पक्ष र सरकारको नेतृत्व गरिरहेका उनीबीच सम्बन्ध चिसिएको सहजै अनुमान लगाउन सकिन्छ । ओलीको स्वाभिमानी अभिव्यक्ति मोदीका लागि घाडो बन्दै गएको छ । आफूले भनेको नेपालको सरकारले नमानेपछि भारतीय पक्ष जेठअघि नै जसरी भए पनि ओली सरकार गिराउने र आफूले पार्टी सभापतिमा जिताएका कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन चाहन्छ । यही चाहना तथा रणनीतिलाई सफल बनाउन दिल्लीमा खिचडी पाक्ने सूत्रहरुले बताएका छन् । 

त्यसो त भारतीय पक्षकै साथ र सहयोगबाट अगाडि बढिरहेका एमाओवादी अध्यक्ष प्रचण्ड समेत गोप्य रुपमा ओली सरकार गिराउने खेलमै लागिरहेका छन् । उनले एउटै पार्टीबाट प्रधानमन्त्री र राष्टपति पनि हुँदा अन्य दलहरुको अस्तित्व संकटमा पर्ने भन्दै यो सरकारको विकल्प खोज्नै पर्ने बताउन थालेका छन् । प्रचण्ड समेत ओली सरकारको विकल्प खोज्ने विषयमा सहमत भएका कारण भारतलाई आफ्नो रणनीति देउवामार्फत कार्यान्वयन गराउन सहज छ । 

हिन्दूराष्ट्रको मुद्धा पनि
सरकार गिराउने खेलसँगै भारतीय जनता पार्टी(भाजपा)का केही नेताहरुले नेपाललाई हिन्दू राष्ट्र बनाउने अभियानलाई समेत देशव्यापी बनाउन कांग्रेसका नेताहरुलाई निर्देशन दिइरहेका छन् । उनीहरुकै योजनामा नेपालमा राजावादीहरु पछिल्लो समय सक्रिय भएका स्रोतले जनाएको छ । राजावादीहरुलाई आन्दोलनका लागि आर्थिक सहयोग नै भारतले उपलब्ध गराइरहेको र काठमाण्डौ केन्द्रीत आन्दोलनलाई अब जिल्ला जिल्लामा पुर्याउने योजना रहेको छ । जिल्लाहरुमा हिन्दू राष्टको नारा राजावादी बाहेक मधेशवादी दलहरुले पनि लगाउने सेटिङ भारतले मिलाएको छ । देशलाई हिन्दू राष्ट बनाउने मुद्धामा मधेशवादी दलहरु समेत भारतीय योजनामा सामेल छन् । एकातिर राजाले दिल्लीबाट ग्रिन सिग्नल पाएर अगाडि बढिरहेका छन् भने अर्कोतर्फ राजावादी र मधेशवादीको गठजोडमा हिन्दू राष्टको नारा देशव्यापी बनाइनेछ । यही क्रममा देउवा सत्तामा आएपछि उनैतर्फ धर्म निरपेक्षता खारेज गरी मुलुकलाई पुनः हिन्दू राष्ट्र कायम गराउने भारतीय दाउ रहेको छ । देउवाकै काँधमा बन्दूक राखेर भारतल सीमांकन लगायतको मुद्धा आफ्नो स्वार्थ अनुकूल टुंग्याउने दाउ समेत हेरेको सूत्रको बुझाई छ । विभिन्न स्रोतहरुले संवाददातालाई एउटै कुरा भनेका छन्–‘तपाई ढुक्क हुनुहोस्, असारपछि यो देशको प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । त्यही अनुसार खिचडी पाकिरहेको छ, भारतीय रणनीति सफल हुने अवस्था बन्दै गएको छ ।’