काठमाण्डौ । यही मंसिर २९ गतेदेखि आईपीओ निष्कासन गर्न लागेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अबको तीन वर्षको वित्तीय प्रक्षेपण सार्वजनिक गरेको छ।

सार्वजनिक वित्तीय प्रक्षेपणअनुसार आर्थिक वर्ष २०७९/८० मा कुल बीमाशुल्क ४ अर्ब ८६ करोड बढी पुग्ने छ। जुन आर्थिक वर्ष २०७८/७९ को प्रक्षेपित कुल बीमाशुल्कभन्दा ५० प्रतिशत हो। आव २०७८/७९ मा भने कुल बीमाशुल्क अघिल्लो आवको तुलनामा ६३ प्रतिशतले बढाएर ३ अर्ब २४ करोड रुपैयाँ बढी हुने प्रक्षेपण कम्पनीको छ। २०७७/७८ मा भने यस्तो बीमाशुल्क अघिल्लो वर्षको तुलनामा ६६ प्रतिशतले बढेर १ अर्ब ९९ करोड पुग्ने प्रक्षेपण गरिएको छ।

यसैगरी कम्पनीले खुद बीमाशुल्क पनि आव २०७९/८० सम्म बढेर ४ अर्ब ६९ करोड रुपैयाँ बढी हुने प्रक्षेपण गरेको छ। यस्तो बीमशुल्क भने आव २०७७/७८ मा १ अर्ब ९२ करोड रुपैयाँ र आव २०७८/७९ मा ३ अर्ब १३ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।

आव २०७९/८० खुद दाबीभुक्तानी ५२ लाख ९६ हजार रुपैयाँ हुने प्रक्षेपण गरेको कम्पनीले आव २०७७/७८ र २०७८/७९ मा भने क्रमशः ४२ लाख ८९ हजार रुपैयाँ र ४७ लाख ५६ हजार रुपैयाँ हुने अनुमान गरेको छ।

कम्पनीको प्रक्षेपणमा आव २०७९/८० मा खुद नाफा २८ करोड २८ लाख रुपैयाँ हुनेछ। जुन अघिल्लो आवको तुलनामा २६ प्रतिशतले बढी हुनेछ । आव २०७८/७९ मा भने यस्तो नाफा २० करोड ८२ लाख रुपैयाँ र आव २०७७/७८ मा १३ करोड ५१ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।

जीवन बीमा कोष भने आव २०७७/७८, २०७८/७९ र २०७९/८० मा क्रमशः १२२ प्रतिशत, १०२ प्रतिशत र ८३ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ।

कम्पनीले प्रतिसेयर आम्दानी (ईपीएस) आर्थिक वर्ष २०७९/८० मा १३.१४ रुपैयाँ हुने प्रक्षेपण गरेको छ। त्यसअघिका दुई आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ मा भने ईपीएस क्रमशः ७.५१ रुपैयाँ र १०.४१ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।

अपरिष्कृत विवरणअनुसार २०७६/७७ मा भने कम्पनीको ईपीएस ३.८३ रुपैयाँ रहेको छ।

यसैगरी कम्पनीले २०७७/७८ मा प्रतिसेयर नेटवर्थ ११५.८२ रुपैयाँ हुने प्रेक्षपण गरेको छ। त्यस्तै प्रतिसेयर नेटवर्थ आर्थिक वर्ष २०७८/७९ मा १२६.२३ रुपैयाँ र २०७९/८० मा १३९.३७ रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।

अपरिष्कृत विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ आर्थिक वर्ष २०७६/७७ मा ११२.९४ रुपैयाँ रहेको छ।

कम्पनीको सञ्चित आय भने आर्थिक वर्ष २०७७/८८ मा २८ करोड ६६ लाख बढी हुने प्रक्षेपण गरिएको छ। प्रक्षेपित विवरणअनुसार आर्थिक वर्ष २०७८/७९ मा ४७ करोड ४१ लाख रुपैयाँ बढी र आर्थिक वर्ष २०७९/८० मा ७१ करोड ६ लाख रुपैयाँ बढी हुनेछ।

यो कम्पनीले १०० रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयरको प्राथमिक निश्कासन गर्ने भएको हो।  कुल निश्कासन हुने ६० लाख कित्तामध्ये ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता सो कम्पनीका कर्मचारीहरुका लागि र अर्को ५ प्रतिशतले हुन आउने ३ लाख कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ। 

कम्पनीले चुक्तापूँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो। आइपीओ निश्कासनपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रुपैयाँ पुग्नेछ। यस्तै, संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर अनुपात ७०ः३० प्रतिशत हुनेछ। 

इच्छुकले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। 

आइपीओको निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ। 

आइपीओमा छिटोमा पुस २ गतेभित्र आवेदन दिइसक्नुपर्नेछ। सो अवधिभित्र सबै आइपीओ बिक्री भएन भने ढिलोमा पुस १३ गतेसम्म आवेदन दिनसक्ने गरी मिति तोकिएको छ। 

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले प्रभू लाइफलाई इक्रा एनपी आईआर डबल बी प्लसको रेटिङ दिएको छ । यस्तो रेटिङ पाउने कम्पनीहरु मध्यम जोखिम खालका कम्पनी मानिन्छन्। यस्तै इक्राले प्रभू लाइफको आइपीओलाई ग्रेड फोरको रेटिंग प्रदान गरेको छ, जुन खासै राम्रो रेटिंग होइन।