​– अर्जुन तिमिल्सिना

काठमाण्डौ । झन्डै १० महिनाअघि आईपीओ निष्कासन गरेर गत असार १५ गतेबाट धितोपत्र दोस्रो बजारमा प्रवेश गरेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको चर्चा अहिले पनि बजारमा उत्तिकै छ। 

त्यसो त कारोबार खुलेको पहिलो दिन नै नकारात्मक सर्किट लागेर झट्का व्यहोरेको यो कम्पनीको सेयरमूल्य अंकित मूल्य सात महिनाकै अवधिमा १५ गुणाले बढेको छ। अझै पनि लगानीकर्ताहरु यो कम्पनीप्रति निकै आकर्षित छन्। माग र आपूर्तिको नियमअनुसार यसको मूल्य भविष्यमा कति हुने भन्ने कुरा बजारले नै निर्णय गर्नेछ। त्यसैले लगानीकर्ताहरुले यसको वित्तीय विवरण तथा भविष्यको व्यापारलाई बुझ्न आवश्यक छ।

यही सेरोफेरोमा हामीले लगानीकर्ताहरुलाई यो कम्पनीको प्राविधिक तथा आधारभूत अवस्था बुझ्न अझै सहज होस् भनेर आज यो कम्पनीको विश्लेषण गरेका छौँ।  

आधारभूत पक्ष

नेपालको एकमात्र पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्म १ अर्ब २३ करोड ७१ लाख रुपैयाँ कमाइसेको छ। चुक्तापुँजी १० अर्ब रहेको यो कम्पनीको जगेडा कोषमा ३ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ रहेको छ। 

कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब ९१ करोड ५७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने जीवन बीमा व्यवसायबाट ७१ करोड ६६ लाख रुपैयाँबराबर आर्जन गरेको छ। चुक्तापुँजीलाई र बजारमा पुनर्बीमाको अबस्थालाई केलाउँदा १० अर्ब पुँजी कमै हुन्छ। कोरोनाको १ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी परेकोले पनि भबिष्यमा यो कम्पनीले पुँजी वृद्धिको उपाय नलेला भन्न सकिन्न।

प्राविधिक पक्ष 

इलिअट वेभ सिद्धान्त 

यो सिद्धान्त सन् १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। यसमा ५ वटा वेभ हुन्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावको हुन्छ भने २ र ४ मा करेक्सन हुन्छ।

आरएसआई

यो विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभरबट जोन छुट्टाइन्छ।  

पुनर्बीमा कम्पनीको हालको आरएसआई ५५.७० रहेको छ। जसको अर्थ हुन्छ, यो सेन्ट्रल जोन नजिक छ र भविष्यमा यसको मूल्य माथि जाने सम्भावना देखिन्छ।

मैनबत्ती विश्लेषण

मैनबत्ती विश्लेषणअन्तर्गत पुनर्बीमा कम्पनीको अन्तिम कारोबारलाई आधार मान्दा लामो माथिल्लो धागो बनाएको छ। यसले घट्दो बजारलाई संकेत गर्छ। यो धागो शरीरको लम्बाइबराबर हुनुपर्छ। जति लामो बन्यो त्यति नै भरपर्दो हुन्छ।

पिभट विश्लेषण

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसका भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १ : १५६८

प्रतिरोध २ : १६२१

प्रतिरोध ३ : १६७२

घटेमा सर्पोट 

सपोर्ट १ : १४६४

सर्पोट २ : १४१३

सर्पोट ३ : १३६०