काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बेष्ट फाइनान्स कम्पनी लिमिटेडले ७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।

आज सार्वजनिक तेस्रो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीको यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १७.३५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीको खुद नाफा ६ करोड ६ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म कम्पनीको सञ्चालन मुनाफा भने घटेर ६ करोड ४८ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीको यस्तो मुनाफा ८ करोड ६७ लाख रुपैयाँ रहेको थियो। 

यो अवधिसम्म कम्पनीले खुद ब्याज आम्दानी पनि घटेर ८ करोड ७७ लाख रुपैयाँ सीमित बनेको छ। गत वर्ष यस्तो आम्दानी १२ करोड ११ लाख रुपैयाँ रहेको थियो। 

कम्पनीले यो ९ महिनामा २ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले २ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९३ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

कम्पनीको रिजर्भको आकार बढेर ४१ करोड १२ लाख रुपैयाँ भएको छ। गत वर्ष रिजर्भमा ३६ करोड रुपैयाँ रहेको थियो। 

कम्पनीको खराब कर्जा दर १३.३० प्रतिशतबाट बढेर १४.७३ प्रतिशत पुगेको छ। आधार दर भने १२.५३ प्रतिशतले घटेर १०.४३ प्रतिशतमा झरेको छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ११.४५ रुपैयाँ रहेको छ। पीई रेसियो १४.८५ रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १११.६४ रुपैयाँ रहेको छ।