– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साताको सेयर बजारलाई समीक्षा गर्नुपर्दा साप्ताहिक रुपमा जम्मा ४ दिन कारोबार भयो। यी कारोबारमा ४०.४७ अर्बको कारोबार भयो भने नेप्से परिसूचकमा २४.३३ अंकको बढोत्तरी भएको छ। 

दैनिक औसत कारोबार १० अर्बभन्दा बढी भएकोले सेयर बजार कारोबार तथा भोलुम दुवैतर्फबाट बुलिस नै रहेको देखिन्छ। यो साता पनि बजारमा रौनक र चमक कायमै रहेको देखिन्छ। 

हाल लगानीकर्ताले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति तथा नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रम प्रतीक्षा गरेको अवस्था छ। यद्यपि सूचीकृत कम्पनीहरुको गत आर्थिक वर्षको चौथो त्रैमासको रिपोर्ट आउने क्रम आगामी साताबाट तीव्र हुनेछ। यस हिसाबले आगामी साता पनि बजारमा राम्रै चहलपहल हुन सक्ने अनुमान यो साताको कारोबार तथा बजारको मनोविज्ञानले देखाउँछ। 

यसै सिलसिलामा आज हामीले जलविद्युत समूहमा रहेको ङादी ग्रुप पावर कम्पनीलाई प्राविधिक तथा आधारभूत रुपमा केलाउन प्रयास गरेका छौँ। 

ङादी ग्रुप पावरको जम्मा ५ मेगावटको जलविद्युत आयोजना सञ्चालनमा छ। २०६२ सालमा प्राइभेट कम्पनीका रुपमा स्थापित ङादी ग्रुप पावर २०७१ सालमा पब्लिका कम्पनीमा परिणत भएको हो। 

यो कम्पनीले निर्माण गरेको आयोजना लमजुङ जिल्लाको भुलभुलेअन्तर्गत सिउरी खोलामा सञ्चालित छ। रन अफ द रिभरमा आधारित यो आयोजनाको पीपीए रेट हिउँदमा ७ रुपैयाँ र बर्खामा ४ रुपैयाँ रहेको छ। 

कम्पनीको गत आर्थिक वर्षको तेस्रो त्रैमास रिपोर्टअनुसार सेयरपुँजी ५८ करोड ९१ लाख रुपैयाँ रहेको छ भने रिटर्न अन अर्निङ ४ करोड १६ लाख रुपैयाँबराबर रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ६.२३ रुपैयाँ, नेटवर्थ १०७.३६ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मूल्य १५३.०९ रुपैयाँ रहेको छ। 

तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको ५ वर्षको औसत लाभांश दर ९ प्रतिशत रहेको छ। 

यो कम्पनीले ४० मेगावटको सुपर ङादी जलविद्युत् आयोजनामा पनि १५ करोड रुपैयाँबराबर लगानी गरेको छ। कम्पनीले ७० मेगावटको बझाङ सेती जलविद्युत आयोजना निर्माण गर्न विद्युत नियमन निकायमा सर्भे अनुमति मागेको छ। कम्पनीले पुँजी वृद्धिका लागि ३० प्रतिशत हकप्रद निष्कासनको अनुमति माग्दै विद्युत नियमन निकायमा निवेदन दिएको छ। 

प्राविधिक पक्ष

इलिअट वेभ सिद्धान्तका आधारमा 

यो सिद्धान्त १९३९ मा राल्फ नेल्सन इलिअटले प्रतिपादन गरेका हुन्। प्राविधिक विश्लेषणमा यो वेभ किन पनि धेरै विश्वासिलो मानिन्छ भने यो वेभ लाखौँ लगानीकर्ताको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। खासमा सेयर बजारमा  सेयरमूल्य लगानीकर्ताको मनोविज्ञानले नै निर्धारण गर्ने हुँदा यो महत्वपूर्ण छ। यो वेभमा ५ वेभ र ९ डिग्री  हुन्छन्। त्यस्ता डिग्री सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समयावधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छन्। यसमा १, ३, ५ चढावको हुन्छ भने २ र ४ मा करेक्सन हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। यो कम्पनीले बनाएको इलिअट वेभको रेखाचित्र र फिवोनासीलाई संयुक्त रुपमा जोडेर हेर्दा इन्टरमिडियट डिग्रीअन्तर्गत वेभ (५) चलेको देखिन्छ । यसअन्तर्गत यो कम्पनीको सेयरमूल्य इन्टरमिडियट डिग्रीको वेभ (५) सम्मको वृद्धिमा लगभग ८२५ रुपैयाँसम्म पुग्न सक्ने र त्यसपछि सोही डिग्रीको वेभ ए, बी र सी बनाउँदा करेक्सन हुने सम्भावना देखिन्छ। (तस्बिर माथि) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपल्ट बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यदि यो कम्पनीको भाउ घटेमा ०.२३ प्रतिशतको टेवा ५८२ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवा ५१५ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवा ४६१ रुपैयाँसम्म तथा ०.६१ प्रतिशतको टेवा ४०५ रुपैयाँसम्म हुन सक्ने देखिन्छ। 

एमएसीडी लाइनका आधारमा

सेयर प्राविधिक विश्लेषणमा प्रयोग हुने यो औजार गेराल्ड अपीले प्रतिपादन गरेका हुन्। एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। यो लाइनलाई आधार मान्ने हो भने गत १४ जुलाईमा एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काटेको र बुलिस सिग्नल बनेको देखिन्छ (हेर्नुहोस् हरियो एरो)। जसले बुलिस सिग्नल भर्खरै बनेको छ र हिस्टोग्राम पोजेटिभ भएका छन्। यसले केही समय सेयरको मूल्य वृद्धि हुन सक्ने बुझिन्छ।

बोलिंगर ब्यान्डका आधारमा 

यो सिद्धान्त १९८० को दशकमा जोन बोलिंगरले प्रतिपदान गरेका हुन्। यो औजार सेयर, डेरिभेटिभ तथा विदेशी मुद्राको मूल्यमा हुने उत्तारचढावको विश्लेषणलाई मध्यनजर गरी तयार पारिएको हो। यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्य रेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वाभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। यो औजारअन्तर्गत यो कम्पनीको मूल्य रेखाले माथिल्लो ब्यान्डलाई छोएको छ र ब्रेक आउट भएको छ। यसले यो कम्पनीको सेयरमूल्यमा तीव्र उत्तारचढाव आएको बुझिन्छ। अन्तिम कारोबारले हरियो लामो मारुबुजु बनाएकोले केही समय खरिदको सम्भावना पनि देखिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यस कम्पनीको हालको आरएसआई ६५.६३ रहेको छ। अघिल्लोपटक यो न्यून विन्दु ४२.४६ को तहमा पुगेपछि सेयरभाउ उकालो लागेको थियो भने उच्चतम विन्दु ७८.९१ को तहमा पुगेपछि ओरालो लागेको थियो। यसलाई आधार मान्दा सेयरमूल्यमा बुलिस सिग्नल देखिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उत्तारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– ७१९

प्रतिरोध २– ७४४

प्रतिरोध ३– ८२०

पिभट प्वइन्ट : ६६८

घटेमा सर्पोट 

सपोर्ट १– ६४३ 

सर्पोट २– ५९२

सर्पोट ३– ५१६

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषणमात्र हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका हैनौँ। प्राविधिक विश्लेषणको संसारभर नै प्रयोग र आलोचना दुवै नै  भइरहने हुनाले हामीले पनि स्वस्थ आलोचना स्वीकार गर्छौं। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।