काठमाण्डौ । कोभिड महामारीको विषम परिस्थितिमा गत आर्थिक वर्ष सेयर बजारमा उत्साहजनक कारोबार भएको छ। गत वर्ष कारोबार रकमसँगै बजार परिसूचक, लगानीकर्ताको सहभागितामा उल्लेख्य सुधार देखिएको छ।

२०७५ कात्तिक २० गतेदेखि पूर्ण स्वचालित अनलाइन कारोबार प्रणाली (नट्स) सञ्चालनमा ल्याएदेखि धितोपत्र दोस्रो बजारको कारोबारमा सकारात्मक परिवर्तनहरु देखा परेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को भनाइ छ।  

नेप्सेले हिजो एक विज्ञप्ति जारी गर्दै गत आर्थिक वर्ष २०७७/७८ सेयर बजारमा १४ खर्ब ६० अर्ब रुपैयाँ बढीको कारोबार भएको जनाएको छ। जुन अघिल्लो वर्षको तुलनामा ८३७ प्रतिशतभन्दा बढी हो। अघिल्लो आर्थिक वर्ष २०७६/७७ सेयर बजारमा १ खर्ब ५५ अर्ब रुपैयाँको मात्रै कारोबार भएको थियो। आर्थिक वर्ष २०७५/७६ मा बजारमा १ खर्ब २० अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो। 
नेप्सेका अनुसार गत वर्ष २०७७/७८ बजार पुँजीकरण ४० खर्ब १० अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २०७६/७७ बजार पुँजीकरण १७ खर्ब ९२ अर्ब रुपैयाँ रहेको थियो। आव २०७५/७६ मा बजार पुँजीकरण १५ खर्ब ६७ अर्ब रुपैयाँ रहेको थियो। 

गत वर्ष ३८ करोड ७५ लाख कित्ता बढी सेयर कारोबार भएको छ। जुन अघिल्लो भने ४२ करोड ८५ लाख कित्ता बढी रहेको थियो।
गत वर्षसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या २२० पुगेको छ। अघिल्लो वर्ष सूचीकृत कम्पनीको संख्या २१२ रहेको थियो। 

यसैगरी गत वर्षसम्म नेप्सेमा सूचीकृत सेयर संख्या ५ अर्ब ८२ करोड ६० लाख ४८ बढी पुगेको छ। अघिल्लो वर्ष सूचीकृत सेयर संख्या ४ अर्ब ८२ करोड ७५ लाख ८१ हजार बढी रहेको थियो। 

गत वर्ष २०७७/७८ मा नेप्से परिसूचक बढेर २८८३.३८ को उचाइमा पुगेको छ। जब कि अघिल्लो वर्ष २०७६/७७ मा नेप्से परिसूचक १३६२.३५ को विन्दुमा रहेको थियो। आव २०७५/७६ मा नेप्से परिसूचक १२५९.०२ को विन्दुमा थियो।