काठमाण्डौ। महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक व्यवसाय समीक्षा सम्मेलन (स्ट्राटेजिक बिजनेस मिट–२०२१) सम्पन्न गरेको छ। 

पोखरामा यही माघ १५ र १६ गते सम्पन्न सम्मेलनको मुख्य उद्देश्य शाखा र उपशाखा प्रमुखलाई सिकाउने, काम गराउने र नेतृत्व गराउने रहेको थियो। देशैभरिका शाखा तथा उपशाखा र प्रधान कार्यालयका गरी ७२ जना कार्यालय प्रमुख र प्रधान कार्यालयका विभागीय प्रमुखसमेतको सहभागिता रहेको थियो। 

कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रम दुई चरणमा सम्पन्न भएको थियो। पहिलो चरणमा माघ १५ गते प्रधान कार्यालयका विभागीय प्रमुख र क्षेत्रीय तथा उपक्षेत्रीय प्रमुखको समीक्षा बैठक भएको थियो।  बैठकमा अर्धवार्षिक व्यवसायको समीक्षा र आगामी रणनीतिबारेमा विस्तृत छलफल भएको थियो। 

जीवन बीमा व्यवसायमा एकल बीमा पोलिसीको नकरात्मक प्रभाव र विकृति बारेमा गंभिर छलफल भएको थियो। माघ १६ गते विभागीय प्रमुख, क्षेत्रीय, उपक्षेत्रीय प्रमुख र शाखार उपशाखा प्रमुखको संयुक्त सम्मेलन भएको थियो। 

प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले  बीमा व्यवसायको कमीकमजोरी र शाखा तथा उपशाखा प्रमुखले खेल्ने भूमिका, गुणात्मक व्यवसाय गर्ने तरिकाबारेमा तालिम प्रदान गरेका थिए। कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृतहरु कमल पन्थी, रामेश्वर श्रेष्ठ, वरिष्ठ सहायक महाप्रबन्धक सपना खरेल र प्रशान्तराज धमलालगायत अन्य विभागिय प्रमुखले विषयगत तालिम प्रदान गरेका थिए।