काठमाण्डौ । भारतको दिग्गज कारोबारी घराना टाटा ग्रुपको टेलिकम कम्पनी टाटा टलिसर्भिसेज महाराष्ट्र लिमिटेडको सेयरले पछिल्लो दुई वर्षमा लगानीकर्तालाई मालामाल बनाएको छ। सन् २०२२ लागेयता पनि यो कम्पनीको सेयरमूल्यमा उछाल आइरहेको छ। 

यो कम्पनीको सेयरमूल्यमा सन् २०२१ मा ३० गुणाले बढोत्तरी भएको छ भने लगानीकर्ताले पछिल्लो २ वर्षमा ११४ गुणाले रिटर्न पाएका छन्। 

पछिल्लो ३ महिनामै यो कम्पनीको सेयरभाउ भारु ३५ बाट बढेर भारु २६४ पुगेको छ। यो अवधिमा कयौँपटक यो कम्पनीको सेयरमा ५ प्रतिशतमाथि अपर सर्किट लागेको छ।

यदि कसैले १ वर्षअघि यो कम्पनीको सेयरमा भारु १ लाख रुपैयाँ लगानी गरेको थियो भने अहिले बढेर भारु ३१ लाख रुपैयाँ भएको छ। यो हिसाबले कम्पनीको सेयरले ३ हजार प्रतिशत रिटर्न दिएको छ। 

त्यस्तै यदि २ वर्षअघि यो कम्पनीको सेयरमा लगानीकर्ता भारु १ लाख रुपैयाँमात्रै लगानी लगाए थिए भने त्यो लगानी बढेर भारु १ करोड १५ लाख रुपैयाँ पुगेको छ। यो अवधिमा लगानीकर्ताहरुले ११४२८ प्रतिशत रिटर्न पाएका छन्। 

सन् २०२२ जनवरी ७ सम्म यो कम्पनीको बजार पुँजीकरण भारु ५१ हजार ६४७ करोड पुगेको छ। – एजेन्सी