काठमाण्डौ । समाज लुघवित्त वित्तीय संस्था लिमिटेडले स्वस्तिक लघुवित्तसँगको मर्जर प्रक्रिया भंग गरेको छ।

संस्थाको हिजो भदौ १६ गते बसेको सञ्चालक समितिको बैठकले सिरहाको लहानमा मुख्य कार्यालय रहेको स्वस्तिक लघुवित्तसँग मर्जरमा जान नसकिने निर्णय गरेको हो। 

सर्लाही मलंगवामा मुख्य कार्यालय रहेको समाज लघुवित्त र स्वस्तिक लघुवित्तबीच गत वर्ष असोज ५ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।

गत असार १० गते स्वस्तिकसँगको मर्जर प्रक्रियामा छलफल गर्न समाज लघुवित्तले विशेष साधारणसभा डाकेको थियो। तर सभामा उपस्थित बहुमत सदस्यले स्वस्तिक लघुवित्तसँग मर्जरमा जान नसकिने राय प्रस्तुत गरेका थिए। 

यसरी मर्जरमा जान नसक्ने मुख्य कारण मर्जरपछिको बन्ने संस्थाको मुख्य कार्यालय राख्ने विषय बनेको छ। यसअघि एकीकृत कार्यालयको मुख्य कार्यालय महोत्तरीको बर्दिबासमा राख्ने सद्धौन्तिक सहमति भएको थियो। तर पछि मुख्य कार्यालय साविकको स्वस्तिक लघुवित्तको केन्द्रीय कार्यालय लाहानमा राख्ने भएपछि मर्जर प्रक्रिया जान समाज लघुवित्तका बहुमत सेयरधनी सहमत नभएका हुन्। 

कम्पनीले स्वस्तिकसँग मर्जरमा नजानुका कारणसहितको पत्र हिजो नेपाल राष्ट्र बैंकमा पठाएको छ। पत्रमा अन्य उपयुक्त संस्थाको पहिचान गरी गाभ्ने/गाभिने कार्यलाई पूर्णता दिने समाज लघुवित्तले प्रतिबद्धता पनि जनाएको छ।