काठमाण्डौ । विभिन्न प्रकार कोषको स्वामित्वमा रहेको सेयर आईपीओ बाँडफाँड भएको मितिले १ वर्षको अवधि पूरा भएपछि बिक्री गर्न पाउने भएका छन्। 

सरकारको स्वीकृपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दर्ता तथा निष्कासन (छैटौँ संशोधन) नियमावली, २०७९ जारी गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित नियमावलीमा प्राइभेट इक्विटी, भेन्चर क्यापिटल, हेज फन्ड वा यस्तै प्रकारका कोषका रुपमा बोर्डमा वा विदेशमा दर्ता भएको कोषको स्वामित्वमा रहेको धितोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको मितिले १ वर्षको अवधि पूरा भएपछि बिक्री गर्न सक्ने व्यवस्था सेबोनले थपेको हो। 

यसअघि विवरण प्रकाशन गरी निष्कासनको गरिएको धितोपत्रबाहेक अन्य समूहको धतोपत्र संगठित संस्थाले सर्वसाधारणका लागि जारी गरेको आईपीओ बाँडफाँड भएको मितिले ३ वर्षको अवधि पूरा नभई बक्री गर्न नपाइने व्यवस्थामात्रै थियो। 

यसैगरी श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाले आईपीओमा १० प्रतिशत आरक्षण पाउने भएका छन् । संगठित संस्थाले आईपीओ बिक्री गर्दा निष्कासित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँड गर्नुपर्ने व्यवस्था सेबोनले गरेको छ। 

यसरी आईपीओमा सम्बन्धित व्यक्तिले आवेदन दिँदा सेबोनबाट धितोपत्र खरिद दरखास्त संकलनसम्बन्धी कार्य गर्न अनुमति प्राप्त बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खातामार्फत मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ। यसरी आरक्षणका लागि छुट्याएको सेयर बिक्री नभई बाँकी रहन गएमा त्यस्तो सेयर सर्वसाधारण समूहमा थप गरी जारी गर्नुपर्ने संशोधित नियमावलीमा उल्लेख छ। 

थप सार्वजनिक निष्कासन (एफपीओ) मा भने यस्तो आरक्षण छुट्याउनु आवश्यक नभएको संशोधित नियमावलीमा प्रस्ट पारिएको छ।