काठमाण्डौ । लिलामीमा राखिएको नेसनल लाइफ इन्स्योरेन्स र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको सेयरमा खरिद आवेदन दिने आज माघ १३ गते अन्तिम दिन रहेको छ।

गत माघ ६ गतेबाट प्रुडेन्सियल क्यापिटल म्यानेजमेनट कम्पनीको स्वामित्वमा रहेको नेसनल लाइफको २ लाख १ हजार ८२० कित्ता र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको १ लाख ५० हजार कित्ता सेयर गरी कुल ३ लाख ५१ हजार ८२० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको थियो। यी दुवै कम्पनीको सेयर खरिदका लागि लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौको बबरमहलस्थित कार्यालयमा आज बैंकिङ समयसम्म बोलपत्र पेस गर्न सक्नेछन्। 

यो संस्थापक सेयरमा विद्यमान संस्थापकका साथै जोकाही व्यक्ति तथा संघसंस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्छन्। लगानीकर्ताले बोलपत्र पेस गर्दा नेसनल लाइफमा न्यूनतम ५ हजार कित्ता र शाइन रेसुंगामा न्यूनतम २ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। 

नेसनल लाइफको न्यूनतम मूल्य प्रतिकित्ता ३५० रुपैयाँ र शाइन रेसुंगाको १५० रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।