काठमाण्डौ । आशा लघुवित्त र स्वावलम्बन लघुवित्तको लिलामीमा राखिएको सेयरमा बोलपत्र पेस गर्ने आज माघ २४ गते अन्तिम दिन रहेको छ। 

यी दुवै लघुवित्तले गत माघ १० गतेबाट संस्थापक समूहको सेयर लिलामीमा राखेका थिए। यी दुवै सेयरमा आज बैंकिङ समयसम्म खरिद आवेदन दिन सकिनेछ।

आशा लघुवित्तले १ लाख ७० हजार ३७५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। यो लिलामी सेयरमा इच्छुक जोकोही व्यक्ति तथा संस्थाले बोलपत्र पेस गर्न सक्नेछन्। 

बोलपत्र पेस गर्दा न्यूनतम ५० हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने कुनै हद लाग्ने छैन। 

लिलामीमा राखिने सेयरको न्यूनतम मूल्य ३८० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

बोलपत्र काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा पेस गर्नुपर्नेछ। 

यसैगरी नबिल बैंकको स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको १ लाख ५९ हजार कित्ता संस्थापक सेयर लिलामीमा राखिएको छ।

लिलामीमा राखिएको सेयरमा विद्यमान संस्थापक सेयरधनी, अन्य जोकोही व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन्।

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतममा भने कुनै हद लाग्ने छैन। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५५५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

इच्छुक लगानीकर्ताले काठमाण्डौको नक्सालस्थित नबिल इन्भेस्टमेन्ट बैंकिङमा बोलपत्र पेस गर्नुपर्नेछ।