काठमाण्डौ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण प्रकाशित गर्न सहमति प्रदान गर्ने सम्बन्धमा विभिन्न मापदण्ड तोकेको छ। 

केन्द्रीय बैंकले आज इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनका लागि वित्तीय विवरण प्रकाशन गर्न सहमति प्रदान गर्ने तथा लाभांश स्वीकृत गर्नेसम्बन्धी कार्यविधि, २०७७ (प्रथम संशोधनसहित) जारी गर्दै विभिन्न मापदण्ड अघि सारेको हो। संशोधित कार्यविधिअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो वार्षिक हिसाबलाई सञ्चालक समितिमा अभिलेख र सञ्चालकहरुको दस्तखत हुनुअगावै प्रारम्भिक रुपमा छलफलका लागि सम्बन्धित सुपरिवेक्षण विभागमा पेस गर्नुपर्नेछ। त्यसपश्चात तोकिएका विषयहरु यकिन गरी सोसमेतका आधारमा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग छलफल गरी संशोधन गर्नुपर्ने अवस्था देखिएमा सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई जानकारी गराइने राष्ट्र बैंकले जनाएको छ। 

यस्ता छन् मापदण्डहरु

१. लेखापरीक्षकको प्रारम्भिक प्रतिवेदन र सोउपर व्यवस्थापनको जबाफ, स्थलगत निरीक्षण प्रतिवेदनलगायत उपलब्ध आधिकारिक कागजातबाट सारभुत रुपमा वित्तीय विवरणलाई असर गर्न सक्ने रकम तथा जानकारीलाई अपरिष्कृत वित्तीय विवरणमा आवश्यक समायोजनसहित राष्ट्र बैंकले तोकेको ढाँचामा प्रस्तुत गरे/नगरेको ।

२. राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गरिएका परियोजना कर्जाको हकमा एकीकृत निर्देशन नं. २ मा रहेको व्यवस्थाअनुसार यस बैंकको पूर्वस्वीकृति लिएरमात्र कर्जाको ग्रेस अवधिमा पाकेको ब्याजलाई पुँजीकरण गरी आम्दानी जनाउन पाइने तर सोही निर्देशनअनुसार स्वीकृति लिनु नपर्ने भनी तोकिएका अवस्थाहरुमा यस बैंकको पूर्वस्वीकृति लिनु नपर्ने व्यवस्था रहेकोमा सोको पालना भए÷नभएको तथा सोको सम्बन्धमा लेखासम्बन्धी टिप्पणीमा खुलाए/नखुलाएको। 

३. एकीकृत निर्देशन नं. ४ मा भएको नियमनकारी समायोजनसम्बन्धी व्यवस्थाअनुसार नियमनकारी कोषमा जम्मा गर्नु नपर्ने प्रोदभावी आधारमा लेखांकन गरिएको प्राप्त हुन बाँकी ब्याज आम्दानीबराबरको रकमको सम्बन्धमा बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो लेखा नीति तथा लेखासम्बन्धी टिप्पणीमा रकमसहित स्पष्ट खुलाए/नखुलाएको।

नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार नगर्ने वित्तीय संस्थाको हकमा एकीकृत निर्देशन नं. ४ बमोजिम असार महिनासम्ममा पाकेको ब्याज वर्षान्तपछिको तोकिएको समयावधिभित्र प्राप्त भएमा सो रकमलाई आफ्नो आम्दानी लेखांकनसम्बन्धी नीति तथा लेखासम्बन्धी टिप्पणीमा रकमसहित स्पष्ट खुलाई गत आर्थिक वर्षको नाफा नोक्सान हिसावमा आम्दानी जनाए/नजनाएको।  

४. यस बैंकबाट कारबाहीमा परेका बैंक तथा वित्तीय संस्थाका संस्थापक, सञ्चालक, पदाधिकारी वा सम्बद्ध व्यक्ति तथा त्यस्तो व्यक्तिको वित्तीय स्वार्थ भएको संस्था, फर्म वा कम्पनीलाई प्रवाह भएको कर्जालाई खराब वर्गमा वर्गीकरण गरी सतप्रतिशत कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था पालना गरे/नगरेको ।

५. एकीकृत निर्देशन नं. ८ मा रहेको व्यवस्थाबमोजिम छुट प्रदान गरिएकोमा बाहेक धितोपत्र विनिमय बजारमा सूचीकृत भई नसकेको संगठित संस्थाको सेयर वा डिवेञ्चरमा गरेको लगानी त्यस्तो लगानी गरेको मितिले ३ वर्षभित्र सूचीकृत नभएको खण्डमा लगानी भए बराबरको रकम सञ्चित मुनाफा खर्च गरी लगानी समायोजन कोषमा जम्मा गरे/नगरेको ।

६. नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार नगर्ने वित्तीय संस्थाको हकमा स्थगन करको गणना तथा लेखांकन नेपाल लेखामान अनुसार गर्नुपर्ने । स्थगन कर गणना गर्दा सिर्जना हुने स्थगन कर सम्पत्तिलाई वितरणयोग्य मुनाफाबाट घटाई खुद वितरणयोग्य मुनाफा कायम गर्नुपर्ने तथा सोही खुद वितरणयोग्य मुनाफाबाट मात्र लाभांश घोषणा तथा वितरण गर्न सकिने व्यवस्था पालना भए/नभएको ।

७. इजाजतपत्रप्राप्त संस्थाले सालतमामीमा मौज्दातमा रहेको विदेशी मुद्राको पुनरमूल्यांकन गर्दा खुद नोक्सान भएमा नाफानोक्सान हिसाबमा खर्च जनाउनुपर्ने र खुद नाफा भएमा सोलाई नाफानोक्सान हिसाबमा आम्दानी जनाई उक्त नाफाको कम्तीमा २५ प्रतिशत रकम सटही समिकरण कोषमा जम्मा गरे/नगरेको ।

८. नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार नगर्ने वित्तीय संस्थाको हकमाबैंक तथा वित्तीय संस्था एकआपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि सम्पत्ति तथा दायित्वको मूल्याङ्कन समेतको आधारमा तय भएको सेयर मूल्य अनुपातका कारण फरक हुन आएको बचत रकमलाई बाँडफाँड नगरी सोझै पुँजीगत जगेडाकोषमा जम्मा गर्नुपर्ने तथा त्यस्तो पुँजीगत जगेडा कोषमा रहेको रकमबाट इजाजतपत्रप्राप्त संस्थाले नगद लाभांश वितरण गर्न नपाउने व्यवस्थाको पालना भए/नभएको ।

९. एकीकृत निर्देशन नं ४ को नियमनकारी समायोजनसम्बन्धी व्यवस्थाबमोजिम वित्तीय विवरणहरुमा देहायबमोजिमको नियमनकारी समायोजन कोषमा रकम जम्मा भए/नभएको ।

  • वित्तीय विवरणमा रहेको ब्याज आम्दानीमध्ये यस बैंकको निर्देशनबमोजिम नियमनकारी कोषमा राख्न छुट प्रदान गरिएको बाहेकको प्रोदभावी आधारमा लेखांकन गरिने प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनस कट्टा गरी बाँकीे रहेको रकम, 
  • एनएफआएसबमोजिम ‘फेयर भ्यालु थ्रु प्रफिट अर लस’ मा लेखांकन गरेको लगानीका साथै अन्य कुनै सम्पत्तिहरुमा फेयर भ्यालु गेन (अनरिजिल्ड गेन) भएमा उक्त लाभबापतको रकम,
  • गैरबैंकिङ सम्पत्तिको कुल रकममा प्रचलित नियमानुसारको आयकर तथा कर्मचारी बोनसबापतको रकम कट्टा गरी बाँकीे हुने रकम,
  • स्थगन कर सम्पत्तिबराबरको रकम,
  • गुडविलको लेखांकन गर्दा लेखांकन गरिएको वर्षमा सोको किताबी मूल्यबराबरको रकम, 
  • मर्जर/एक्विजिसनबाट सिर्जित बारगेन पर्चेज गेनको लेखांकन गरिएमा लेखांकन गर्दाको वर्षमा सोको किताबी मूल्यबराबरको रकम, 
  • कर्मचारी खर्चको लेखांकन गर्दा बीमांकीय मूल्यांकनबमोजिम सिर्जना भएको बीमांकीय घाटालाई अदर कम्प्रिहेन्सिभ इनकममा लेखांकन भएको अवस्थामा सो बराबरको रकम, 
  • कुनै खर्च रकम नाफानोक्सान हिसाबमा लेखांकन नभई अदर कम्प्रिहेन्सिभ इनकममार्फत वा सोझै इक्विटीमा लेखांकन भई इक्विटी हिसाबअन्तर्गतको सम्बन्धित शीर्षक ऋणात्मक भएमा सो बराबरको रकम, र 
  • सम्बन्धित सुपरिवेक्षण विभागले निर्देशन दिएबमोजिमको रकम सञ्चित मुनाफा खातालाई खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्ने।

१०. नियमनकारी कोषमा जम्मा भएको रकम एकीकृत निर्देशन नं ४ मा उल्लेखित व्यवस्था एवं यस बैंकले दिएको स्वीकृतिबाहेकका अवस्थामा खर्च गर्न नपाइने व्यवस्थाको पालना भए/नभएको । 

११. मर्जर/एक्विजिसनबाट सिर्जित बारगेन पर्चेज गेनको लेखांकन गरी नियमनकारी कोषमा जम्मा भएको सोबापतको रकमबाट बोनस सेयर जारी गर्ने स्वीकृतिका लागि पेस गर्दा सोको विस्तृत विवरणसहित पेस गरे/नगरेको । 

१२. नियमनकारी कोषमा जम्मा तथा खर्च भएको रकमसहित कोषमा भएको परिवर्तनको विवरण आफ्नो वित्तीय विवरणको लेखासम्बन्धी टिप्पणीमा राष्ट्र बैंकले तोकेको ढाँचामा उल्लेख गरे/नगरेको ।