– अनन्त्य सुन्दर (प्रशिक्षार्थी पत्रकार)

काठमाण्डौ । डिजिटल युगको सबैभन्दा ठूलो उपलब्धि नै ‘क्रिप्टोकरेन्सी’ अर्थात् डिजिटल पैसालाई मानिन्छ। कागजको पैसा बोकेर भुक्तानी गर्नको साटो क्यासलेस भुक्तानी गर्नका लागि क्रिप्टोकरेन्सीको विकास भएको हो। 

बिटक्वाइन संसारको सबैभन्दा पहिलो क्रिप्टोकरेन्सी हो। सन् २००९ मा बिटक्वाइनको स्थापना भई कारोबार सुरु भएको थियो। पैसाको विकेन्द्रीकरण साथै सरकारी हस्तक्षेप न्यूनीकरण गर्नका लागि बिटक्वाइन लगायत अन्य क्रिप्टोकरेन्सीहरूको विकास भएको हो। अहिले बिटक्वाइनको प्रतिइकाइ मूल्य ३९ हजार ६३०.१० अमेरिकी डलर छ।  

पहिलो स्क्रिप्ट बिटक्वाइन भएकोले धेरैजसो मानिसलाई ‘स्क्रिप्ट नै बिटक्वाइन हो’ भन्ने लाग्छ। तर विश्व बजारमा अहिले इथेरियम, लाईटक्वाइन, बाइनान्सलगायत अन्य ४००० भन्दा बढी क्रिप्टकरेन्सी छन्। 

विश्व बजारमा दैनिक रूपमा नयाँ क्रिप्टोकरेन्सीहरू थपिने गरेको छ। पछिल्लो समय एलन मस्कजस्ता विश्वको धनाढ्यहरूका साथै मोर्गन स्टान्लीजस्तो इन्भेस्टमेन्ट कम्पनीहरूले पनि क्रिप्टोकरेन्सीमा लगानी गर्न सुरु गरेका छन्। जसले गर्दा नयाँ लगानीकर्ता पनि क्रिप्टोमा लगानी गर्न आकर्षित छन्। 

नयाँ लगानीकर्ताको प्रवेशसँगै अहिले बिटक्वाइन, इथेरियमजस्ता क्रिप्टोकरेन्सीहरूको मूल्य आकासिएको छ। यस लेखमा लगानी गर्न सस्तो र राम्रो ५ क्रिप्टोकरेन्सीहरू समेटिएका छन्। 

कारडानो

कारडानोको विकास चार्ल्स होस्किन्सनले गरेका हुन्। होस्किन्सन इथेरियमको भूतपूर्व सञ्चालक थिए। बजार पुँजीकरणको हिसाबले बिटक्वाइनपछि इथेरियम विश्वको दोस्रो ठुलो क्रिप्टोकरेन्सी हो। सहकर्मीहरूसँग व्यवसायी मनमुटाब भएपछि होस्किन्सनले ईथेरियम छाडेका थिए। त्यसपश्चात्  सन् २०१५ मा होस्किन्सनले कारडानो पहिलोपटक बजारमा ल्याएको थिए। कारडानो इन्जिनियर, गणितज्ञ, र क्रिप्टोग्राफी विशेषज्ञहरूको टिमले बनाएका हुन्। कारडानोलाई ‘ईथेरियम किलर’ पनि भन्ने गरिएको छ। इथेरियमको तुलनामा कारडानोको ब्लक चेनको विशेषता धेरै भएकाले यसलाई ‘ईथेरियम किलर’ भनिएको हो। 

कारडानोको बजार पुँजीकरण ९.८ बिलियन अमेरिकी डलर छ। अहिले एउटा कारडानो खरिद गर्ने हो भने १.९९५ अमेरिकी डलर पर्छ।  

तेदर

तेदरको विकास ब्रोक पियर्स, क्रेग सेलर्स र रिभ कोलिन्सले गरेका हुन्। सन् २०१४ मा स्थापना भई कारोबार सुरु भएको थियो। बिटक्वाइन, इथेरियमलगायत अन्य क्रिप्टोकरेन्सीको तुलनामा तेदरको मूल्य स्थिर हुने गरेको छ। त्यसैले तेदरलाई ‘रियल क्वाइन’ पनि भनिन्छ। तेदर डलरसँग पेग गरिएकाले यसको मूल्य डलरसँग घट–बड हुन्छ। तेदरलाई अन्य क्रिप्टोको तुलनामा अमेरिकी डलरमा रूपान्तरण गर्न सहज छ। 

सन् २०२१ मा बजार पुँजीकरणको हिसाबले तेदर विश्वको तेस्रो ठूलो क्रिप्टोकरेन्सी भएको छ। तेदरको बजार पुँजीकरण २४.४ अर्ब अमेरिकी डलर छ। अहिले एउटा तेदर खरिद गर्ने हो भने ०.९९ अमेरिकी डलर पर्छ।

डोजक्वाइन

डोजक्वाइनको विकास बिल्ली मार्कस र ज्याक्सन पाल्मरले गरेका हुन्। सन् २०१३ मा डोजक्वाइन स्थापना भई कारोबार सुरु भएको थियो। मार्कस र ज्याक्सनले डोजक्वाइन ‘मिम’ का रूपमा बनाएका थिए। त्यसैले डोजक्वाइनको लोगोमा नै कुकुरको फोटो राखिएको छ। टेस्लाको सिइयो एलन मस्कले डोजक्वाइनमा लगानी गरेसँगै यसको मूल्य आकासिएको हो। मस्कलाई ‘डोज फादर’ पनि भनिन्छ।
मजाकमा बनाएको डोजक्वाइनको बजार पुँजीकरण अहिले ७८ अर्ब अमेरिकी डलर छ। अहिले एउटा डोजक्वाइन खरिद गर्ने हो भने त्यसको मूल्य ०.४७ अमेरिकी डलर पर्छ।

बाइनान्सक्वाइन

बाइनान्सक्वाइनको विकास चांगपेंग जाओले गरेका हुन्। चांगपेंग बाइनान्सको सीईयो पनि हुन्। बाइनान्सको एपबाट लगानीकर्ताले सजिलै क्रिप्टोकरेन्सी खरिद–बिक्री गर्न सक्नेछन्। सन् २०१७ मा स्थापना भई बाइनान्सक्वाइनको कारोबार सुरु भएको थियो। बाइनान्सक्वाइनको विकास स्क्रिप्ट खरिद–बिक्री सहजीकरणका लागि भएको थियो। अहिले बाइनान्स एपबाट बाईनान्सक्वाइनले अन्य क्रिप्टोकरेन्सीहरू पनि खरिद गर्न सकिन्छ।

बाइनान्सक्वाइनको बजार पुँजीकरण ६.८ अर्ब अमेरिकी डलर छ। अहिले एउटा बाइनान्सक्वाइन खरिद गर्ने हो भने त्यसको मूल्य ४३१.५२ अमेरिकी डलर पर्छ। 

लाइटक्वाइन

लाइटक्वाइनको विकास गुगलका भूतपूर्व इन्जिनियर चार्ली लिले गरेका हुन्। सन् २०११ मा स्थापना भई लाइटक्वाइनको कारोबार सुरु भएको थियो। अहिले विश्व बजारमा ८४ मिलियनभन्दा बढी लाइटक्वाइनहरू छन्। बिटक्वाइनको तुलनामा लाइटक्वाइनको भुक्तानी ४ गुणा छिटो हुने बताइएको छ। लाइटक्वाइन बजार पुँजीकरणको हिसाबले छैटौँ ठुलो क्रिप्टोकरेन्सी हो। लाइटक्वाइनको बजार पुँजीकरण १०.१ अर्ब अमेरिकी डलर छ। अहिले एउटा लाइटक्वाइन खरिद गर्दा त्यसको मूल्य २७०.७५ अमेरिकी डलर पर्छ। – एजेन्सीको सहयोगमा