काठमाण्डौ । क्रिप्टो एजुकेसन प्लेटफर्म क्रिप्टो हेडले हालै क्रिप्टो एटीएम भएका देशहरुको सूची सार्वजनिक गरेको छ। 

क्रिप्टो हेडले तयार पारेको सूचीअनुसार सबैभन्दा क्रिप्टो एटीएम अमेरिकामा रहेको छ। अमेरिकामा १७ हजार ४३६ वटा क्रिप्टो एटीएम दर्ता भएका छन्। यो आधारमा क्रिप्टो हेडले अमेरिकालाई १० अंकमा ७.३ अंक प्रदान गरेको छ। 

क्रिप्टो एटीएम एउटा फिजिकल डिभाइज हो। जसले मानिसलाई क्यास, डेबिट÷क्रेडिट कार्डबाट क्रिप्टोकरेन्स किन्नका लागि अनुमति दिन्छ। केही क्रिप्टो एटीएम बाई–डायरेक्सनल हुन्छन् र डिजिटल करेन्सीहरु बेचेर नगद प्राप्तको अनुमति पनि दिन्छन्। 

क्रिप्टो एटीएम दर्ताको हिसाबले दोस्रो नम्बरमा क्यानडा रहेको छ। यो देशमा १ हजार ४६४ वटा क्रिप्टो एटीएम दर्ता छन्। 

त्यसैगरी २०० वटा क्रिप्टो एटीएमका साथ बेलायत तेस्रो नम्बर छ भने १५७ वटा क्रिप्टो एटीएमका साथ अस्ट्रिया चौथो नम्बर रहेको छ। 
यो सूचीको पाँचौँ, छैटौँ र सातौँ स्थानमा स्पेन, हङकङ र पोल्यान्ड छन्। यी देशमा क्रमशः १३८, १२४ र ११२ वटा क्रिप्टो एटीएम दर्ता छन्। 

क्रिप्टो एटीएम सर्वाधिक रहेका देशहरुको आठौँदेखि दसौँ स्थानमा क्रमशः स्विट्जरल्यान्ड, रोमानिया र चेक रिपब्लिक छन्। स्विट्जरल्यान्डमा १११, रोमानियामा ८६ र चेक रिपब्लिकमा ६८ वटा क्रिप्टो करेन्सी दर्ता छन्। – एजेन्सी