काठमाण्डौ । व्यापार विस्तारमा एनआईसी एसिया बैंक निकै आक्रामक देखिएको छ।

गत आर्थिक वर्ष २०७७/७८ मा निक्षेप संकलन र कर्जा परिचालनको हिसाबले एनआईसी एसियाको व्यापार विस्तार नै आक्रामक देखिएको हो। नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको निक्षेप र कर्जाको तथ्यांकले यस्तो देखाएको हो।  

एनबीएका अनुसार एनआईसी एसिया बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा निक्षेप संकलन ८९ प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो वर्ष २ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले गत आर्थिक वर्षमा बढाएर ३ खर्ब रुपैयाँ बढी गरेको छ। 

यसैगरी एनआईसी एसिया बैकले कर्जा लगानी अघिल्लो वर्षको तुलनामा ९१.१० प्रतिशतले बढाएर गत वर्ष २ खर्ब ६४ अर्ब रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब ७३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो।

कर्जा लगानीको हिसाबले नबिल बैंक दोस्रो स्थानमा रहेको छ। यो बैंकले अघिल्लो वर्षको तुलनामा कर्जा लगानी पनि ५२.६४ प्रतिशतले बढाएर २ खर्ब ५ अर्ब रुपैयाँ पुर्याएको छ। अघिल्लो बैंकले १ खर्ब ५३ रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यसैगरी कर्जा लगानीमा राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंक क्रमशः तेस्रो र चौथो स्थानमा छन्। यी दुवै बैंकले अघिल्लो वर्षको तुलनामा गत वर्ष कर्जा लगानी ४३.२८ र ४२.५१ प्रतिशतले बढाएका छन्। गत वर्ष रावा बैंकले १ खर्ब ९९ अर्ब रुपैयाँ र ग्लोबल आइएमई बैंकले २ खर्ब ४२ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्। जब कि अघिल्लो वर्ष यस्तो कर्जा लगानी क्रमशः १ खर्ब ५६ अर्ब र १ खर्ब ९९ अर्ब रुपैयाँ रहेको थियो।

सिजिजन्स बैंक र प्रभु बैंक लगानी कर्जाको वृद्धिको हिसाबले पाँचौँ र छैटौँ स्थानमा छन्। यी दुवैले क्रमशः ४२.३९ प्रतिशत र ३९.१६ प्रतिशतले लगानी बढाएका छन्। 

अघिल्लो वर्षको तुलनामा सिद्धार्थ बैंक, नेपाल बैंक, एनएमबि बैंक र एनसीसी बैंकले पनि कर्जा लगानी क्रमशः ३८.१९ प्रतिशत, ३७.१४ प्रतिशत, ३६.२७ प्रतिशत र ३०.५६ प्रतिशतले बढाएका छन्।  

निक्षेप संकलनको हिसाबले दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ। यो बैंकले अघिल्लो वर्षको तुलनामा निक्षेप संकलन ५६.७० प्रतिशतले बढाउन सफल भएको छ। अघिल्लो वर्ष २ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले बढाएर यो वर्ष २ खर्ब ६४ अर्ब रुपैयाँ पुर्याएको छ।

निक्षेप संकलन वृद्धिको हिसाबले सिटिजन्स बैंक र सिद्धार्थ बैंक तेस्रो र चौथो स्थानमा रहेका छन्। यी दुवै बैंकले क्रमशः ५०.८० र ३९.२६ प्रतिशतले निक्षेप बढाएका छन्। अघिल्लो वर्ष ९२ अर्ब २० करोड लगानी निक्षेप संकलन गरेको सिटिजन्स गत वर्ष १ खर्ब ४३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। सिद्धार्थ बैंकले अघिल्लो वर्ष १ खर्ब ४५ अर्ब र गत वर्ष १ खर्ब ८५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ। 

यसैगरी प्रभु बैंकले गत वर्ष १ खर्ब ६९ अर्ब रुपैयाँ, कुमारी बैंकले १ खर्ब ५७ अर्ब, एनएमबी बैंकले १ खर्ब ६६ अर्ब, एनसीसी बैंकले १ खर्ब १० अर्ब रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ६४ अर्ब र सिभिल बैंकले ९० अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ३३.२१ प्रतिशत, ३२.९६ प्रतिशत, ३१.६४ प्रतिशत, ३१.१६ प्रतिशत, ३१.१२ प्रतिशत र ३०.२० प्रतिशतले बढी हो। यो हिसाबले यी बैंक क्रमशः पाँचौँदेखि दसौँ स्थानसम्म रहेका छन्। 

कुन वाणिज्य बैंकको बिजनेस ग्रोथ कस्तो ? हेर्नुहोस् –