विराटनगर । भारतीय लुटेराहरुको एक समूहले मोरङको धनपालथान गाउँपालिकास्थित कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा सोमबार दिउँसो करिब २२ लाख रुपैयाँ लुटपाट गरेका छन् । 

दिउँसो करिब साढे ३ बजे २ वटा मोटरसाइकलमा आएका ६ जना बन्दुकधारी लुटेराको समूहले लुटपाट गरेको हो । 

लुटपाटअघि नकाबधारी सो समूहले पेस्तोलबाट बैंकका सुरक्षागार्डलाई गोली प्रहार गरेका थिए । 

गोली लागी बैंकका सुरक्षागार्ड शितल कुँवर गम्भीर घाइते भएका छन् । उनको घाँटीको पछाडिको भागमा गोली लागेको छ । गम्भीर अवस्थामा उनको उपचार जारी छ । तर, अवस्था चिन्ताजनक भने छैन । 

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सो शाखाबाट करिब २२ लाख नगद लुटपाट भएको जानकारी दिए । 

बैंक लुटेर सो समूह को २५ प ३८९९ नम्बरको मोटरसाइकल चढेर भागेका थिए । 

यसैबीच, प्रहरीले स्थानीयको सहयोगमा लुटपाटमा संलग्न भएको आशंकामा ३ भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

केही स्थानीयले लुटेरा समूहलाई पक्रिएर झुण्ड्याउँदै पिटेको र लगेको भिडियो हालेर टिकटक समेत बनाएका छन् ।

हेर्नुहोस् भिडियो: