काठमाण्डौ । ब्लुमबर्गले विश्वका २५ धनाढ्य व्यापारिक घरानाको सूची सार्वजनिक गरेको छ।

ब्लुमबर्गका अनुसार ठूलो व्यापारिक घरानाको पहिलो स्थानमा वाल्टन परिवार २२४ अर्ब डलरका साथ रहेको छ। यो घरानाले वालमार्ट चलाउँछ। यो परिवार अमेरिकाको नर्थवेस्ट अर्कान्सास सहरमा बस्छ।

दोस्रो नम्बरमा अमेरिकाको मार्स परिवार रहेको छ। यो परिवारको कुल सम्पत्ति १६० अर्ब डलर रहेको छ। मार्स परिवारको मुख्य व्यवसाय कन्फेक्सनरी र घरपालुवा जनावरको हेरचाह हो। यो संसारको सबैभन्दा ठूलो पेट केयर उत्पादन कम्पनी हो। अहिले मार्स परिवारको पाँचौँ पुस्ताले व्यवसाय चलाइरहेका छन्। 

तेस्रो नम्बरमा कोच औद्योगिक घराना छ। यो परिवारको कुल सम्पत्ति १२८ अर्ब डलर छ। 

फ्रेडरिक कोचले पहिलोपटक १९४० मा वुड रिभर आयल र रिफाइनिङ कम्पनीको स्थापना गरेका थिए। अहिले यो परिवारको तेस्रो पुस्ताले व्यवसाय हाँकिरहेको छ। 

साउदी अरबको अल साउद परिवार धनी व्यापारिक घरानाको सूचीमा चौथो नम्बरमा छ। यस परिवारको कुल सम्पत्ति १०५ अर्ब डलर छ।

साउदी राजकुमार मोहम्मद बिन सलमान व्यक्तिगत रुपमा १०० अर्ब डलरभन्दा बढी व्यापार सम्पत्ति नियन्त्रण गर्छन्।

पाँचौँ नम्बरमा फ्रान्सको हर्मेस परिवार छ। यस व्यापारिक घरानाको कुल सम्पत्ति करिब ९५ अर्ब डलर रहेको छ।

छैटौँ नम्बरमा भारतको अम्बानी परिवार रहेको छ। धीरुभाई अम्बानीले सन् १९५० को दशकमा रिलायन्स इन्डस्ट्रिजको स्थापना गरेका थिए। १९५७ धीरुभाई अम्बानी यमनबाट फर्केर भारत आए र मुम्बईमा धागो व्यवसाय सुरु गरे।

अम्बानी परिवारको कुल सम्पत्ति हाल ८५ अर्ब डलरनजिक छ। २००२ मा धीरुभाई अम्बानीको निधनपछि उनको व्यवसाय अनिल अम्बानी र मुकेश अम्बानीबीच विभाजित भयो। अहिले अम्बानी परिवारको तेस्रो पुस्ता व्यवसायमा छ। –एजेन्सी