काठमाण्डौ । देशभरि गर्मी बढेको छ । बढ्दो गर्मीसँगै कतिपय क्षेत्रमा पानीको स्रोत सुक्न थालेको छ । कतिपय शहरी इलाकामा समेत पिउने पानीको हाहाकार मच्चिन सुरु भएको छ । पानीको समस्या वर्षेनी विकराल बनिरहेको बेला आउनुहोस्, जानिराखौं ती १० देशको विषयमा, जहाँ रक्सी पिउनु सस्तो पर्छ, तर पिउने पानी सबैभन्दा महंगो पर्छ । १.५ लिटर पानीको कुनै देशमा त ३ सय ५० रुपैयाँ भन्दा बढी तिर्नुपर्छ । पानी पिउनलाई समेत महंगो पर्ने ती देशको सूचिमा नर्वे, अस्ट्रेलिया, जिम्बाबे, फिनल्याण्ड, न्यूजिल्याण्ड लगायतका देश अगाडि छन् । 

नर्वे
विश्वमै पिउने पानीका लागि सबैभन्दा धेरै पैसा तिर्नुपर्ने देश नर्वे हो । बेवरेज मार्केटिङ कर्पोरेशनको रिपोर्टका अनुसार विश्वकै विकसित देशमध्येमा पर्ने नर्वेमा एकबोतल पानी(१.५लिटर पानी)को मूल्य ३.३ डलर पर्छ । नेपालको हिसाबबाट हेर्ने हो भने यो मूल्य करिब ३ सय ५० रुपैयाँ पर्न जान्छ । त्यसो त लिभिङ स्ट्याण्डर्डका लागि नर्वे विश्वकै उत्कृष्ट देशकै सूचिमा पर्छ । 

अष्ट्रेलिया
अष्ट्रेलिया पनि पानी खरीदमा निकै धेरै मूल्य तिर्नुपर्ने देशमध्येमै पर्छ । रिपोर्ट अनुसार यहाँ १.५ लिटर पानी खरीद गर्न नेपाली २९७ रुपैयाँ(२.८डलर) तिर्नुपर्छ । लिभिङ स्ट्याण्डर्डका लागि अष्ट्रेलिया पनि विश्वकै टप देशमा पर्छ । 

जिम्बाबे
जिम्बाबेमा पनि पानी खरीद गर्दा निकै धेरै रकम तिर्नुपर्ने देश हो । बेभरेज मार्केटिङ कर्पोरेशनका अनुसार यो देशमा १.५ लिटरको एक बोतल पानीको मूल्य २.७ डलर अर्थात करिब २ सय ९० रुपैयाँ नेपाली रकम तिर्नुपर्छ । जिम्बाबे लिभिङ स्ट्याण्डर्डको हिसाबले विश्वको उत्कृष्ट देशको सूचिमा छैन । यो विश्वकै पछाडि परेका केही देशमध्ये एक हो । यो देशमा लामो समयदेखि तानाशाही शासन चलिरहेको छ ।

फिनल्याण्ड
फिनल्याण्ड युरोपियन मुलुक हो ।  यहाँको जीवनशैली निकै स्तरीय मानिन्छ । जीवनशैलीजस्तै पानीको मूल्य समेत यो देशमा निकै माथि छ । रिपोर्टका अनुसार यो देशमा १.५ लिटरको एउटा पानीको बोतल खरीद गर्दा २.६ डलर तिर्नुपर्छ । फिनल्याण्ड विश्वकै केही विकसित देशमध्येको एक हो । 

न्यूजिल्याण्ड
न्यूजिल्याण्डमा समेत पानीका लागि निकै धेरै रकम तिर्नुपर्छ । बेभरेज मार्केटिङ कर्पोरेशनको रिपोर्ट अनुसार यो देशमा १.५ लिटर पानीका लागि २.५ डलर मूल्य चुकाउनुपर्छ । स्तरीय जीवनशैली अपनाउने देशमध्ये यो पनि एउटा हो । थोरै जनसंख्या र धेरै प्राकृतिक स्रोतहरुका कारण यहाँको जीवनस्तर निकै माथि छ । 

आइसल्याण्ड
आइसल्याण्ड पनि यूरोपियन मुलुक नै हो । यहाँको जीवनस्तर पनि निकै माथि रहेको छ । जीवनस्तरजस्तै यहाँ पानीको भाउ समेत निकै माथि छ । यो देशमा १.५ लिटर पानीका लागि २.४ डलर तिर्नुपर्छ । आइसल्याण्ड पनि विश्वका गन्न सकिने केही विकसित देशमध्ये एक हो । 

भेनेजुएला
भेनेजुएला दक्षिण अमेरिकी देश हो । विश्वमा यो देशलाई एक पेट्रोलियम निर्यातकर्ता देशको रुपमा चिन्ने गरिन्छ । भेनेजुएला सबैभन्दा सस्तोमा पेट्रोल पाइने मुलुकहरुको सूचिमा समेत पर्छ । तर यही देशमा पानीका लागि भने निकै महंगो मूल्य चुकाउनुपर्छ । रिपोर्टका अनुसार यो देशमा १.५ लिटर पानीका लागि २.३९ डलर मूल्य चुकाउनुपर्छ । जीवनस्तरको हिसाबले भेनेजुएला राम्रो देश होइन । यो देशको गन्ती विश्वका केही पछाडि परेका मुलुकहरुको सूचिमा हुने गर्छ । 

ग्वेर्नसे
यो ब्रिटिस महारानीको शासनको बेला बनेको एक स्वतन्त्र द्विपीय देश हो । यहाँका मानिसले समेत पानीका लागि महंगो मूल्य तिर्नुपर्र्ने बाध्यता छ । वेभरेज मार्केटिङ कर्पोेरेशनको रिपोर्ट अनुसार यो देशमा १.५ लिटर पानीका लागि २.३२ डलर खर्च गर्नुपर्छ । यो देश पनि उत्कृष्ट जीवनस्तरका लागि संसारमा परिचित छ । तर सानो अर्थतन्त्र र व्रिटिस साम्राज्य अन्तरगत रहेकोले समेत यसको नाम चाहि कमै मात्र सुनिने गरिन्छ । 

स्वीडेन
स्वीडेन पनि पानीका लागि महंगो रकम तिर्नुपर्ने देश हो । यो देशमा १.५ लिटर पानीका लागि २.२९ डलर तिर्नुपर्ने मिडिया रिपोर्टमा उल्लेख छ । जीवनस्तरको हिसाबले समेत स्वीडेन टप देशमध्येमा पर्छ । कम जनसंख्या र प्रशस्त प्राकृतिक स्रोतका कारण यो देश सम्पन्न छ ।

प्यूर्टो रिको
अमेरिकासँग जोडिएको केरेबियन महादीपमा अवस्थित मुलुक हो प्यूूर्टो रिको । पानीको महंगो मूल्यको सूचिमा यो देश १० औं नम्बरमा पर्छ । रिपोर्टका अनुसार यो देशमा १.५ लिटर पानीका लागि १.९७ डलर मूल्य तिर्नुपर्छ । जीवनस्तरको हिसाबले यो देश पनि विश्वको टप देशमध्येमै पर्छ ।