काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ मा नेपाल टेलिकमको खूद नाफा २ अर्ब २९ करोडले घट्न पुगेको छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको खूद मुनाफा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ रहेकोमा घटेर २०७७/७८ को चौथो त्रैमाससम्म ७ अर्ब ४५ करोड ४० लाखमा सीमित बन्न पुगेको छ । 

टेलिकमको नाफामा यसरी पहिरो किन गयो त ?  

कोभिड-१९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा कमी आएका कारण नाफा घटेको हो । 

यस्तै, बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा चालु आ.ब.मा घट्न गएको हुँदा समेत ब्याज आम्दानी प्रभावित भएको देखिएको छ । 

कोभिड १९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डेटा प्याकेज उपलब्ध गरिएको हुँदा अघिल्लो वर्षको तुलनामा डेटाको प्रयोग बढेता पनि राजश्व आशातितरुपमा वृद्धि हुन नसकेको हो । 

यस्तै, कोभिड १९ महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागू भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभुतपूर्व गिरावट आएको तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा भारी गिरावट आएका कारण समेत नाफा प्रभावित बन्न पुगेको हो । 

समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटहीदरमा आएको परिवर्तन तथा फोरजी र एफटिटिएच जस्ता नविन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको देखिएको छ । 

गत आ.वं.को आषाढ मसान्तको अन्तिम लेखापरीक्षण पश्चातको कुल सेवाबापतको आय रु. ३४ अर्ब ६१ करोड ९९ लाख ६४ हजार रहेकोमा चालु समीक्षा अवधिमा कुल सेवा बापतको आय रु.  १ अर्ब २८ करोड ३७ लाख ६९ हजार (३.७० प्रतिशत)ले वृद्धि भई रु. ३५ अर्ब ९० करोड ३७ लाख ३३ हजार रहेको छ । 

यस्तै, अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कुल सेवाबापतको आय रु. ७ अर्ब ७८ करोड ३३ लाख २० हजार रहेकोमा समीक्षा अवधिमा कुल सेवा बापतको आयमा रु. ६६ करोड ९० लाख ६० हजार (८.६० प्रतिशत)ले वृद्धि भई रु. ८ अर्ब ४५ करोड २३ लाख ८० हजार पुगेको छ । 

आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासिक अवधिसम्ममा खुद मुनाफा रु ५ अर्ब ८८ करोड ४४ लाख ७२ हजार रहेकोमा चौथो त्रैमासिक अवधिमा रु. १ अर्ब ५६ करोड ९६ लाख १२ हजारले वृद्धि भई रु ७ अर्ब ४५ करोड ४० लाख ८५ हजार पुगेको देखिएको छ ।