काठमाण्डौ । सारा विश्वलाई नै आफ्नो कब्जामा लिएको कोरोना महामारीबाट प्रत्येक कार्यक्षेत्र, प्रत्येक काम र प्रत्येक मानिस कुनै न कुनै रुपमा प्रभावित बनेका छन् । यसले मानिसहरुको जीवनमा कयौँ समस्याहरु निम्त्याएको छ । अझ विशेष त त्यस्ता मानिसहरुका लागि दुखःद खबर ल्याएको छ, जो आफ्ना आर्थिक मुद्धाहरुलाई नजरअन्दाज गर्छन वा जो यसका बारेमा सोच्ने मात्र गर्छन । यतिबेला आफ्नो आर्थिक अवस्थाका बारेमा चिन्तित हुनुपर्ने परिस्थितीको सिर्जना भईसकेको छ । आर्थिक मामिलाका बारेमा सिक्न सुरु गर्ने र आफ्नो आर्थिक अवस्थाका बारेमा सोच्न थाल्ने आजभन्दा गम्भीर समय यसअघि तपाई हामीसामु सायद कहिल्यै आएको थिएन । 

तपाइँमध्ये केहीलाई लाग्न सक्छ कि आफ्नो व्यक्तिगत आर्थिक मामिलाका विषयमा केही समस्याहरु छन् । निश्चय पनि आर्थिक मामिलाका विषयमा केही समस्या वा बुझाईमा कमीको समस्याहरु हुन्छन नै । तर तपाईले सोचे अनुरुप यो विषय त्यति जटिल पनि छैन । यस विषयमा एकपटक जान्न सुरु गरेपछि कयौँ चीजहरुका बारेमा सजिलै थाहा पाइन्छ । यहाँ त्यस्ता ७ विषयका बारेमा चर्चा गरिँदैछ जसले तपाईको आर्थिक अवस्थामा कहिल्यै आँच आउने दिने छैन वा वित्तीय रुपमा तपाइँलाई स्वस्थ राख्न सहयोग पुर्याउँछ । 

१.पैसाको बचत
वित्तीय रुपमा स्वस्थ रहनका लागि यो सबैभन्दा महत्वपूर्ण बानी हो । यदि तपाइँले अहिलेसम्म पनि यसको सुरुवात गर्नु भएको छैन भने जतिसक्दो चाँडो यस्तो बानी बसाल्न सुरु गरिहाल्नुस् । पैसा बचत गर्न किन आवश्यक छ ? ताकि तपाइँसँग पर्याप्त पैसा मौजाद रहिरहोस् र यसबाट तपाइँले लगानी गरेर थप पैसा जम्मा गर्न सक्नुहोस् । 

पैसाको बचत आवश्यक त छ, तर यो कसरी गर्ने ? सजिलो छ, तपाइँ जति कमाउनु हुन्छ त्यो भन्दा कम पैसा खर्च गर्नुहुन्छ भने तपाइँको पैसा बचत हुन्छ । कति पैसा बचत गर्न आवश्यक पर्छ त ? विशेषज्ञका अनुसार यदि तपाइँ रिटायरमेन्ट पश्चात पनि आफ्नो वर्तमानको जीवनशैलीलाई कायम राख्न चाहनुहुन्छ भने तपाइँले कम्तीमा पनि आफ्नो कमाईको २५ देखि ३० प्रतिशत बचत गर्नुपर्छ । यो विषय कठिन लाग्न सक्छ । तर कोरोना महामारीको दौरान हामीले जुन प्रकारले जीवनलाई महशुस गरेका छौँ, त्यसले हामीलाई जीवनमा के आवश्यक छ र के छैन भनेर राम्रो ज्ञान दिएको छ । 

२.खर्चमाथि निगरानी
जीवनमा के आवश्यक छ र के छैन भनेर तय गर्न सकिरहनु भएको छैन भने सबैभन्दा सजिलो तरिका भनेको आफ्नो खर्चमाथि निगरानी राख्नु हो । केवल एक महिनाभरी आफ्नो खर्चमाथि निगरानी राख्ने हो भने तपाइँले पैसा कहाँ गईरहेको छ र यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भनेर सजिलै थाहा पाउनुहुन्छ । 

३. आवेगमा आएर खर्च नगर्नुहोस् 
आवेगमा आएर गरिने खर्च समेत वित्तीय स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । खर्च व्यवस्थापन गर्नसक्ने क्षमताले यस्ता आवेगमा गरिने खर्चलाई नियन्त्रण गर्न सजिलो हुन्छ । तलब आउने बित्तिकै महंगा वस्तु खरिद गर्नु, बिहानीका खाना बाँकी हुँदा पनि बाहिरबाट खाना अर्डर गुर्न, पुरानो ज्याकेट ठिक हुँदा पनि नयाँ खरिद गर्नु, सवारी साधनले काम गरिरहेको भएपनि नयाँ खरिद गर्नु जस्ता खर्चहरु आवेगमा आएर हुने खर्चहरु हुन् । यो त्यहि पैसा हो जसलाई हामीले खर्च नगर्ने हो भने बचत हुने गर्दछ । खर्चमा नियन्त्रण गरेर पनि आफ्नो आर्थिक स्थिरता हासिल गर्न सकिन्छ । खर्च गर्ने मामिलामा कहिलेकाही जोकोहीको पनि पाइला डगमगाउन सक्छ तर निरन्तर रुपमा यस्तो हुन थाल्यो भने दुर्घटना समेत हुनसक्छ । आवेगमा गरिने खर्च अपवाद हुनुपर्छ, तर बानी होइन । 

४. भविष्यका लागि लगानी
आखिर पैसा के र कसका लागि बचत गर्ने ? तपाइँले बचत गर्ने पैसा तपाइँले बनाउनु भएको घुम्न जाने योजना, कार खरिद गर्ने योजना वा महंगा धातु खरिद गर्ने योजनाहरुमा प्रयोग गर्नु सक्नुहुन्छ । २० देखि ३० सम्म युवाहरुलाई बचत आवश्यक छैन वा प्राथमिकतामा पर्दैन भन्ने लाग्न सक्छ । तर कोरोना महामारीले हामीलाई कुनै पनि विपतका बेला बचतको कति महत्व हुन्छ भनेर राम्रो पाठ सिकाएको छ । त्यसैले अचानक आएको कुनै संकटबाट बच्नका लागि, आफूले आफैंलाई राम्रो रिवार्ड दिनका लागि वा कम उमेरमा रिटायर हुनका लागि आज नै लगानी गर्नु सुरु गर्नुपर्दछ । 

५.ऋणबाट मुक्त हुनुहोस् 
बैंकहरुले प्रदान गर्ने विभिन्न ऋणहरुको ब्याजदर एक प्रकारको हुने गर्दैन । क्रेडिट कार्डको ब्याजदर धेरै हुने गर्दछ । जब कि विद्यार्थीलाई दिइने ऋणको ब्याजदर कम हुने गर्दछ । तपाइँको ऋण कति छ, यसमा विशेष ध्यान दिनहोस् र यसलाई समयमै तिर्नुहोस् । सबैभन्दा धेरै ब्याजदर भएको ऋणलाई सबैभन्दा पहिले तिर्नुहोस् । 

६.आखिरी समयसम्म प्रतिक्षा नगर्नुहोस् 
जब कुरा तपाइँको आर्थिक अवस्थाको आउँछ तब फुर्सदमा पछुताउनुभन्दा राम्रो पहिले नै सुरक्षित हुनु हुन्छ । आर्थिक सुरक्षा तपाइँको पहिलो लक्ष्य हुनुपर्छ । केवल ऋण मात्रै नभई अन्य सबै बाँकी रहेका भुक्तानीहरु पनि समयै गर्नुहोस् । कोठा भाडा होस् वा, फोन वा इन्टरनेटको बिल वा अन्य कुनै पनि बिल होस् सबैको भुुक्तानी समयमै गर्ने बानी बसाल्नुपर्दछ । यदि यसो गर्न समस्या भईरहेको छ भने अटो डेबिड सुविधाको लाभ वा मोबाइलमा रिमाइन्डर सेट गर्न सकिन्छ । यदि तपाइँको कुनै बिलिङ साइकलको समय तपाइँसँग पैसा नभएको बेला आईरहेको छ भने कम्पनीसँग आफ्नो बिलिङ साइकलको समय परिवर्तन गर्न आग्रह गर्न सकिन्छ । 

७.एउटा बजेट तय गर्नुस् र त्यसमा टिकिरहनुस् 
बजेट बनाउनुको उद्देश्य योजना बनाउनु हो, न कि आफूले आफैंलाई पिजँडामा राख्नु । यदि तपाइँ आफ्नो पैसाबाट अधिकतम लाभ उठाउन चाहनुहुन्छ भने कुनै पनि कुराको योजना बनाउन अत्यावश्यक हुने गर्दछ । प्रत्येक महिना कुन कुरामा कति खर्च गर्ने भनेर योजना बनाउनुपर्दछ । ठूलो खरिदका लागि पहिलेदेखि नै योजना बनाउनुुहोस् र अचानक हुने खर्चहरु जस्तै रोग बिमारीका कारण अस्पताल जाने अवस्थालाई आफ्नो बजेटमा समेट्नुहोस् वा बचतबाट खर्च गर्नुहोस् । 

माथि उल्लेखित ७ वटा बुदाँहरु तपाइँको आर्थिक स्वास्थ्यका लागि काफी नहोलान्, तर महत्वपूर्ण भने छन् । यी सातवटा बुँदाहरुको पालना गरेर तपाइँले आफ्नो आर्थिक अवस्थालाई एउटा राम्रो आकार दिन सक्नुहुन्छ, ताकि जीवनमा कुनै पनि चुनौति आउँदा तपाइँले त्यसलाई सफलतापूर्वक सामना गर्न सक्नुहोस् ।