काठमाण्डौ । कैलाश विकास बैंकलाई गाभेर करिब ४ महिनाअघिबाट एकीकृत कारोबार सुरु गरेको प्राइम कमर्सियल बैंक लिमिटेडले देशका विभिन्न स्थानमा रहेका दुवै बैंकका शाखाहरु आपसमा गाभेको छ।

कारोबार गर्दा दोहोरो परेका ९ स्थानमा रहेका दुवै बैंकका शाखाहरु आपसमा गाभिएको प्राइम बैंकले जनाएको छ। यसअघि कैलाशको बनेपा शाखा गत असार १४ गते नै प्राइम बैंकको बनेपा शाखामा गाभिएको छ। 

त्यस्तै साउन १ गतेबाट दमक, विराटनगर, नारायणगढ, कावासोती, पोखरा, नेपालगन्ज र मेहन्द्रनगरमा रहेका कैलाश बैंकका शाखाहरु तिनै स्थानमा रहेका प्राइम बैंकमा रहेका शाखाहरुमा गाभिएर सञ्चालन भइरहेका छन्। यसको अर्थ ती स्थानमा रहेका साबिकको कैलाश बैंकका यसअघि शाखाहरु हटाएर प्राइम बैंकका शाखाहरुमा गाभिएका छन्। अब यी स्थानमा सञ्चालनमा रहेका शाखाहरुबाट मात्र ग्राहकको खाता सञ्चालन हुने प्राइम बैंकले जनाएको छ। 

यसैगरी प्राइम बैंकले यसअघि कैलाश बैंकका शाखाहरुबाट लकर सुविधा प्रयोग गरिरहेका ग्राहकको लकर सार्नुपर्ने भएकोले लकरभित्र रहेका सामान टुटफुट हुन सक्ने भएकोले सम्बन्धित ग्राहकहरुले उक्त शाखामा यथाशीघ्र सम्पर्क गर्न पनि अनुरोध गरेको छ। यी सबै शाखाहरुबाट नगद जम्मान गर्ने र झिक्ने सुविधा उपलब्ध रहेको बैंकले जनाएको छ।