काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको अवितरित झन्डै पाँच लाख कित्ता हकप्रद सेयरमा आवेदन दिने आज मंगलबार अन्तिम दिन रहेको छ ।

कम्पनीले ४ लाख ९९ हजार १९२.६० कित्ता अवितरित हकप्रद सेयर मंसिर १० गतेदेखि लिलामीमा राखेको हो । लिलामीमा राख्न लागिएको सेयरमा संस्थापक समूहको १ लाख ५७ हजार ६४९.६० र सर्वसाधारण समूहतर्फ ३ लाख ४१ हजार ५४३ कित्ता रहेको छ ।

कम्पनीले गत भदौ ३ गतेदेखि असोज २३ गतेसम्म ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । त्यो अवधिमा बिक्री हुन बाँकी रहेको हकप्रद सेयर कम्पनीले लिलामी प्रक्रियामार्फत बिक्री खुलाएको हो ।
लिलामीमा राखिएको सेयरको प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ तोकिएको छ । यसको मतलब लगानीकर्ताले बोलपत्र पेस गर्दा प्रतिकित्ता १०० रुपैयाँभन्दा माथि बोलकबोल गर्नुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि र सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा संस्थापकतर्फ अधिकतम १ लाख ५७ हजार ६४९.६० र सर्वसाधारणतर्फ ३ लाख ४१ हजार ५४३ कित्तासम्मका लागि बोलपत्र पेस गर्न सक्नेछन् ।

सेयरको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।