काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।

धितोपत्र बोर्डले युनियन लाइफलाई ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति दिएको हो। धितोपत्र बोर्डका एक अधिकारीका अनुसार आइतबार यो कम्पनीलाई आईपीओ निष्कासनका लागि अनुमति दिने निर्णय धितोपत्र बोर्डले गरेको हो। ‘आज धितोपत्र बोर्डको वेबसाइटमा युनियन लाइफलाई आईपीओ निष्कासनको अनुमति दिइएकोबारे सूचना राख्छौँ’, ती अधिकारीले भने।

युनियन लाइफले आईपीओ निष्कासनको अनुमति माग्दै गत जेठ ९ गते धितोपत्र बोर्डमा आवेदन दिएको थियो। धितोपत्र बोर्डको अनुमति पाएसँगै अब युनियन लाइफले १०० रुपैयाँ अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्नेछ। 

हाल युनियन लाइफको चुक्तापुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ। आईपीओ बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ। 

आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। 

इक्रा नेपालले आईपीओ निष्कासनका लागि युनियन लाइफले ‘(इक्राएनपी– आईआर) बीबीबी’ रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको आईपीओमा गरिएको लगानी मध्यम किसिमको सुरक्षित रहेको संकेत गर्छ ।