काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिनै १.४१ गुणा बढीले ओभरसब्सक्राइब्ड भएको छ। 

यो कम्पनीले आज बिहीबार (असार २४ गते) बाट ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ। 

कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन्। 

धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडका अनुसार आज अपराह्न ५ बजे ५ लाख १० हजार ९४५ आवेदकबाट ९१ लाख ६०० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.४१ गुणाले बढी हो। 

यो आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ।

युनियन लाइफको आईपीओ निष्कासन बन्द असार २८ गते हुनेछ। 

युनियन लाइफको आईपीओलाई धितोपत्र बोर्डले गत असार १३ गते निष्कासनको अनुमति दिएको थियो। आईपीओ निष्कासनका लागि युनियन लाइफलाई इक्रा नेपालले (इक्राएनपी–आईआर) बीबीबी रेटिङ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ। यो रेटिङको वैधता अवधि एक वर्ष रहनेछ।