काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा आवेदनको नयाँ कीर्तिमान बनेको छ। 

यो आईपीओमा हालसम्मकै सर्वाधिक आवेदन परेको हो। आज आवेदन दिने अन्तिम दिन सोमबार साँझ ५ बजेसम्म २१ लाख ७२ हजार ८६८ आवेदन परेको धितोपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडले जनाएको छ। यो हिसाबले यो आईपीओमा परेको आवेदनले यसअघि जीवन विकास लघुवित्तमा परेको आवेदनको रेकर्ड ब्रेक गरेको छ। यसअघि जीवन विकास लघुवित्तमा सर्वाधिक २० लाख ८७ हजार ३१७ आवेदन परेको थियो। 

यो कम्पनीले गत असार २४ गतेबाट ६४ करोड ५० लाख रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको थियो। कम्पनीले जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशत रकमबराबरको आईपीओ निष्कासन गरेको हो। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो। 

कुल कित्तामध्ये ५ प्रतिशतले हुने ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीलाई सुरक्षित गरिएको थियो भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो। बाँकी रहेको ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिएका छन्। 

प्रभु क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्म यो आईपीओमा २१ लाख ७२ हजार ८६८ आवेदकबाट ३ करोड ४३ लाख ६१ हजार ८२० कित्ता माग भएको छ। जुन मागभन्दा ५.९१ गुणाले बढी हो।