काठमाण्डौ । हालै आईपीओ बिक्री गरी बाँडफाँड गरेको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर आज सोमबारदेखि धितोपत्र दोस्रो बजारमा कारोबारमा आएको छ। 

स्पेसल प्रि–ओपन सेसनमा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) तोकेको ओपनिङ रेन्जभित्रै सेयर किनबेच भएसँगै युनियन लाइफको सेयर नियमित समयका कारोबारमा आएको हो। युनियन लाइफ इन्स्योरेन्सको ३४२ रुपैयाँ पहिलो कारोबार भएको छ। 

हिजो आइतबार यो कम्पनीले सेयर सूचीकरण सम्झौता भएको थियो। कुनै पनि कम्पनीको सेयर नेप्सेमा सूचीकरण भएको दोस्रो दिनबाट कारोबार आउने गर्छ। 

नेप्सेमा युनियन लाइफको १०० अंकित दरका कुल २ करोड १५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। जसमा संस्थापकको १ करोड ५० लाख ५० हजार कित्ता र सर्वसाधारणको ६४ लाख ५० हजार कित्ता रहेका छन्।

यो कम्पनीलाई नेप्सेले यूएलआई कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने न्यूनतम ११५.१३ रुपैयाँदेखि ३४५.३९ रुपैयाँ ओपनिङ रेन्ज तोकिएको थियो।

युनियन लाइफको आईपीओ गत असार ३१ गते बाँडफाँड गरिएको थियो। यो कम्पनीले गत असार २४ गतेदेखि असार २८ गतेसम्म आईपीओ निष्कासन गरेको थियो।