काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ विशेषतायुक्त प्रकारको जीवन आवरण बीमा योजना सञ्चालनमा ल्याएको छ।

कम्पनीले बीमा समितिबाट उक्त योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो। कम्पनीले यस योजनामा बीमा गर्नेहरुका लागि विविध सुविधाहरु उपलब्ध रहेका छन्। बीमा गर्ने ब्यक्ति बीमाअवधिसम्म जीवित रहेमा बीमांक रकम र बोनस उपलब्ध हुनेछ भने बीमाअवधिभित्र कालगतीले निधन भएमा थप बीमांक रकम अर्थात दुईगुणा बीमांक रकम र बोनस उपलब्ध हुने व्यवस्था रहेको छ। 

यसैगरी दुर्घटनाबाट मृत्यु भएमा बीमांक रकमको दुईगुणा बीमांक रकम, अतिरिक्त दुर्घटना लाभबापत १ करोडसम्म र बोनस रकम उपलब्ध हुनेछ। 

उक्त योजना लिन चाहनेहरुले न्यूनतम १ लाख रुपैयाँदेखि आयस्रोतका आधारमा चाहेअनुसार बीमांक रकमको बीमा गर्न सक्ने व्यवस्था रहेको छ। यसका साथै न्यूनतम ७ वर्षदेखि अधिकतम २५ वर्षसम्मको अवधि कायम गरी बीमा गर्न सक्ने कम्पनीले जनाएको छ। 

यस बीमा योजनाअन्तर्गत स्थायी अंगभंग सुविधासमेत उपलब्ध हुनेछ। उक्त बीमा योजना लिएका बीमितहरुले बीमालेखअन्तर्गत ऋण तथा सम्पूर्ण सुविधा प्राप्त गर्न सक्ने व्यवस्था रहेको छ।

कम्पनीले प्रचलनमा ल्याएको उक्त बीमा योजनामा भएका प्रावधानहरुबाट बीमा गर्ने व्यक्तिहरुले अधिक लाभ लिन सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बताए।