– अर्जुन तिमिल्सिना

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत नयाँ बीमा कम्पनीमध्ये युनियन लाइफ इन्स्योरेन्सका विषयमा धेरैले चासो दिन थालेका छन्। 

यो कम्पनी २०७४ मा स्थापना भएको हो। कम्पनीका देशभर ५० वटा शाखा छन्। अन्तर्राष्ट्रिय बजारमा पनि शाखा विस्तार गर्ने कम्पनीको उद्देश्य रहेको छ। 

स्वास्थ्य बीमा व्यवसायमा सबैभन्दा बढी पोलिसी बिक्री गर्ने, सेयरधनीलाई उच्च रिटर्न दिने र राम्रो कर्पोरेट गभर्नेन्स कायम गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको छ। कम्पनीका मुख्य संस्थापकमा नाम चलेको संस्थाहरु जगदम्बा ग्रुप, गोल्छा ग्रुप, गडिया ग्रुप, न्यौपाने ग्रुपलगायत छन्। 

आधारभूत पक्ष 

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँ रहेको छ। यो भनेको हाल बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई कायम गर्न भनेको ५ अर्बको सिलिङमा झन्डै २ अर्ब ८५ करोड अर्थात १३२.६ प्रतिशत नपुग हो। जगेडा कोषमा १ अर्ब १६ करोड रुपैयाँ रहेको कम्पनीले ७ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ६.५९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६०.१४ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्ति ६३७.०५ रुपैयाँ रहेको छ। अन्तिम कारोबार मूल्यअनुसार कम्पनीको प्रतिकित्ता ७०९ रुपैयाँ रहेको छ। हालसम्म कम्पनीको सेयरको उच्च मूल्य ९४० रुपैयाँसम्म र न्यून मूल्य ५४० रुपैयाँसम्म कायम भएको थियो। 

प्राविधिक पक्ष

इलिअट वेभका आधारमा 

यो सिद्धान्तमा ५ वेभ र ९ डिग्री हुन्छन्। त्यस्ता डिग्रीहरुले सानाठूला गरेर १ दिनदेखि १०० वर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन्। इलिअट वेभमा बजार माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जाने ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्। 

कम्पनीको हालको मूल्यलाई चार्टमा राखेर इलिअट वेभमार्फत विश्लेषण गर्दा पछिल्लो न्यून मूल्य ५४० रुपैयाँदेखि ७४० रुपैयाँसम्ममा वेभ १ सकिएको देखिन्छ। त्यसपछि वेभ २ मा करेक्सन भएर ५८८ रुपैयाँसम्म आएको थियो। वेभ ३ मा बढोत्तरीका साथ ८३३ रुपैयाँ, वेभ ५ मा पुनः करेक्सन भएर ७७५ रुपैयाँसम्म र वेभ ५ मा पुनः बढोत्तरीका साथ लगभग १००० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्) 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्। यो सिद्धान्तअनुसार यदि यो कम्पनीको सेयरभाउ घटेमा ०.२३ प्रतिशतको टेवामा ७०९ रुपैयाँसम्म, ०.३८ प्रतिशतको टेवामा ६८७ रुपैयाँसम्म, ०.५ प्रतिशतको टेवामा ६६८ रुपैयाँ र ०.६१ प्रतिशतको टेवामा ४५० रुपैयाँसम्म आउन सक्ने देखिन्छ। (जुन तस्बिरमा हेर्न सकिन्छ)

एमएसीडी लाइनका आधारमा 

एमएसीडी लाइन भनेको सेयर अर्थात बजार परिसूचकको अन्तिम मूल्यको २६ दिन र १२ दिनको एक्सपोनियल मुभिङ एभरेज हो। यसमा एमएसीडी लाइन र सिग्नल लाइन गरी दुई लाइन हुन्छन्। यदि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्छ भने बुलिस क्रस ओभर र माथिबाट काट्छ भने बियरिस क्रस ओभर हुन्छ। 

यो लाइनअन्तर्गत भन्नुपर्दा एमएसीडी लाइनले सिग्नल लाइनलाई गत २२ मार्चमा तलबाट काटेको छ (हेर्नुहोस् हरियो एरो)। हिस्टोग्राम सकारात्मक र क्रमशः लामा–लामा बन्दै गएका छन्। योसँगै एमएसीडी लाइन र सिग्नल लाइनको दूरी बढ्दै गएको देखिन्छ। यो आधारमा यो कम्पनीको सेयरमा खरिदचाप परेको अनुमान लगाउन सकिन्छ।

बोलिंगर ब्यान्डका आधारमा

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। 

बजारलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले केही समय पहिला अपर ब्यान्डलाई कारोबार भएको देखिन्छ तर मध्यरेखाभन्दा माथि नै रहेको देखिन्छ। मध्यरेखाभन्दा माथि रहुन्जेल कम्पनीको मूल्य बुलिस नै भएको अनुमान लगाउन सकिन्छ।

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको कम्पनीको आरएसआई ६३ मा रहेको छ। जसको अर्थ हुन्छ यो कम्पनीको सेयरभाउ बुलिस यात्रामा रहेको बुझिन्छ। यदि आरएसआई ६० भन्दा माथि जान्छ भने अल्पकालीन लगानीकर्ता हावी हुँदै गएको बुझिन्छ। अघिल्लोपटक न्यून विन्दु ३० मा पुगेपछि सेयरभाउ बढ्न थालेको थियो भने ७५ मा पुगे पनि घट्न थालेको थियो।

इचिमोकू क्लाउडका आधारमा 

इचिमोकू क्लाउडअन्तर्गत कन्भर्जन लाइनले बेस लाइनलाई तलबाट काटेको छ (हेर्नुहोस् कालो एरो)। त्यसैगरी क्लाउड पोजिसनअन्तर्गत मूल्यरेखा क्लाउडभन्दा माथि गएको छ (हेर्नुहोस् हरियो एरो)। इचिमोकू क्लाउडमा यदि क्लाउड पोजिसनभन्दा मूल्यरेखा माथि जान्छ भने खरिदको अवस्था र तल जान्छ भने बिक्रीको अवस्था रहेको बुझिन्छ।

पिभट विश्लेषणका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– ७०१
  • प्रतिरोध २– ७८३
  • प्रतिरोध ३– ८२९

पिभट प्वइन्ट : ६५६

घटेमा सपोर्ट 

  • सपोर्ट १– ५७५
  • सपोर्ट २– ५२९
  • सपोर्ट ३– ४४७

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण विभिन्न औजारमा आधारित अनुमान हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारको सिफारिस भने होइन। कारोबार गर्दा आफ्नो स्वविवेक प्रयोग गरिनुपर्छ।