काठमाण्डौ । युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच आइतबार अपसमा मर्जर जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

सम्झौतापत्रमा युनियन लाइफका अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफका अध्यक्ष पीयूषराज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका छन्। संझौताअनुसार तीनै कम्पनीको सेयर अनुपात १ः१ः१ कायम गरिएको छ।

मर्जर सम्झौताअनुसार नयाँ बन्ने कम्पनीको नाम हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड रहने छ भने युनियन लाइफका अध्यक्ष शुलभ अग्रवाल नयाँ बन्ने कम्पनीको अध्यक्ष हुनेछन्। युनियन लाइफको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लालकर्ण मर्जरपश्चात बन्ने नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहनेछन्। 

संझौताअनुसार मर्जरसम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरु सम्पन्न गरी २०७९ चैतभित्र एकीकृत कारोबार गर्ने समयावधि निर्धारण गरिएको छ भने कम्पनीका शाखाहरु, कर्मचारी समायोजनका कार्यहरुसमेत सम्पन्न गरिनेछ।

मर्जर सम्झौता कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले तीन वटा कम्पनी आपसमा मर्जर हुनु ऐतिहासिक कार्य भएको बताए। उनले नियमनकारी निकायका तर्फबाट मर्जर कार्यमा पूर्ण सहयोग रहने प्रतिबद्धता गरे। 

यसैगरी नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले मर्जर सम्झौता सफल बनाउन प्राधिकरणका तर्फबाट आवश्यक सहयोग र समन्वय गर्ने बताए।