काठमाण्डौ । नेपालको इतिहासमै सेयरधनीलाई निकै राम्रो नगद लाभांश वितरण गर्दै आएको युनिलिभर नेपाल लिमीटेडले आर्थिक वर्ष २०७२/७३ मा खूद नाफातर्फ छलाङ मारेको छ । 

यो कम्पनीले खूद नाफा अघिल्लो आबको तुलनामा २३१.०१ प्रतिशतले बढाएको हो । 

यो बहुर्राष्ट्रिय कम्पनीले मंगलबार प्रकाशित गरेको बित्तीय विवरणका अनुसार कम्पनीको खूद नाफा(करपछि) १ अर्ब ४ करोड रुपैयाँ भएको छ । अघिल्लो वर्ष खूद नाफा ३१.६९ करोड मात्र थियो । 

युनिलिभरले संचालन नाफामा पनि राम्रो प्रगति गरेको छ । ४२ करोड ८५ लाख रुपैयाँ रहेको संचालन नाफा बढेर ६१ करोड ६१ लाख पुगेको छ । 

कम्पनीको कुल कारोबार गत वर्षको तुलनामा ८.७ प्रतिशतले वृद्धि भएको समेत बताइएको छ । 

कम्पनीको कुल आम्दानी १ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आब कुल आम्दानी १ अर्ब ४५ करोड मात्र थियो । 
कम्पनीको खुल वार्षिक खर्च समेत घटेको छ । अघिल्लो आबमा १ अर्ब २ करोड कुल खर्च रहेकोमा यो वर्ष घटेर ९३ करोड १२ लाखमा सीमित रहेको हो । 

यो कम्पनीले प्रति सेयर आम्दानीतर्फ पनि निकै ठूलो छलाङ मारेको छ । गत आबको चौथो त्रैमाससम्मको अवधिमा यो कम्पनीको प्रति सेयर आम्दानी ३ सय ४४ रुपैयाँमा सीमित थियो । तर अहिले बढेर ११ हजार ३९ रुपैयाँ पुगेको छ । प्रति सेयर नेटवर्थ पनि १८ सय ९६ रुपैयाँबाट वृद्धि भई २१ सय २४ रुपैयाँ पुगेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २८.७५ गुणा रहेको छ । 

युनिलिभरको पछिल्लो सेयर मूल्य प्रति कित्ता ३३ हजार ७ सय ८० रुपैयाँ रहेको छ ।