काठमाण्डौ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले आगामी डेढदेखि दुई महिनासम्म युरोपको आधार जनसंख्या कोभिडको नयाँ भेरिएन्ट ओमिक्रोनबाट संक्रमित हुने चेतावनी दिएको छ।

डब्ल्यूएचओका डा. हान्स क्लगका अनुसार ओमिक्रोन ‘पश्चिमदेखि पूर्वसम्म छाल’का रुपमा युरोपमा फैलिरहेको छ। ओमिक्रोन संक्रमणको गति डेल्टा भेरिएन्टको वृद्धिदरभन्दा उच्च भएको जनाइएको छ।

यो प्रक्षेपण सन् २०२२ को पहिलो साता युरोपभरि पुष्टि भएका ६० लाख नयाँ संक्रमणका आधारमा गरिएको हो।

गत दुई साताको अवधिमा युरोपमा संक्रमितको संख्या दोब्बरभन्दा बढी भएको छ। ‘सन् २०२१ को अन्त्यसम्म सबै देशले खेपिरहेको डेल्टा भेरिएन्टको लहरमा थपिएको ओमिक्रोन भेरिएन्टले पश्चिमबाट पूर्वतिर फैलिरहेको आँधीको प्रतिनिधित्व गर्छ’, डा. क्लगले पत्रकार सम्मेलनमा भने।

डा. क्लगले हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसन इन्स्टिच्युटलाई उद्धृत गर्दै ‘आगामी ६ देखि ८ हप्तामा युरोप क्षेत्रका ५० प्रतिशतभन्दा बढी जनसंख्या ओमिक्रोनबाट संक्र्रमित हुने’ चेतावनी दिएका हुन्। उनले भाइरस पश्चिमी देशहरुबाट फैलिएकाले युरोपेली र मध्य एसियाली देशहरु संक्रमणको ‘तीव्र दबाब’ मा रहेको बताए। ‘अब कुन देशले यस परिस्थितिमा के गर्ने भन्ने कुरा त्यहाँको महामारीको अवस्था, उपलब्ध स्रोतहरु, खोप वितरणको स्थिति र सामाजिक–आर्थिक सन्दर्भका आधारमा निर्धारण गर्नुपर्छ’, उनले भने। 

पछिल्ला अध्ययनहरुका अनुसार ओमिक्रोनले मानिसहरुलाई कोभिडका पुराना भेरिएन्टहरुको तुलनामा गम्भीर रुपमा बिरामी पार्ने सम्भावना कम छ। तर, यो अत्यधिक संक्रामक भेरिअन्टले पूर्ण मात्रा खोप लगाए पनि संक्र्रमित गर्न सक्छ।

ओमिक्रोन भेरिएन्टको संक्रमण दरले स्वास्थ्य प्रणालीमा तनाव सिर्जना गरेको छ।

बेलायतका धेरै अस्पतालले कर्मचारीको अनुपस्थिति र कोभिड–१९ का कारण बढ्दो दबावका कारण स्थिति ‘गम्भीर’ भएको घोषणा गरेका छन्।

फ्रान्सका स्वास्थ्यमन्त्री ओलिभर भेरानले गत हप्ता ज्यानुअरी अस्पतालहरुका लागि कठिन बन्ने चेतावनी दिएका थिए। उनले ओमिक्रोनबाट संक्रमित बिरामीहरुले अस्पतालका सामान्य शय्या ओगटेको र डेल्टाबाट संक्रमित बिरामीहरु भने सघन उपचार कक्षसम्म पुगेका थिए।

पूर्वी युरोपस्थित पोल्यान्डमा महामारी सुरु भएदेखि हालसम्म संक्रमणका कारण एक लाख मानिसको मृत्यु भएको जनाइएको छ। त्यहाँ कोभिड–१९ का कारण भएको मृत्युदर विश्वको छैटौँ उच्च हो। त्यस देशका लगभग ४० प्रतिशत जनसंख्याले खोप लगाएको छैन।

रुसकी स्वास्थ्य अधिकारी अन्ना पोपोभाले सरकारको कोरोनाभाइरस कार्यदललाई संक्रमण नियन्त्रणका लागि कुनै कदम नउठाए देशको दैनिक संक्रमण दर १ लाख पुग्न सक्ने बताएकी थिइन्।

समाचार संस्था रोयटर्सका अनुसार नोभेम्बर महिनाको सुरुमा पुष्टि भएको ४१ हजार ३३५ दैनिक संक्रमण संख्या केही समययता घटिरहेको थियो। पोपोभाका अनुसार देशभरका १३ क्षेत्रमा ३०५ जनामा ओमिक्रोन भेरिअन्ट देखिएको छ।

रुसमा कम्तीमा ३ लाख ११ हजार २८१ जनाको संक्र्रमणकै कारण मृत्यु भएको छ र १ करोड ५ लाख मानिसलाई संक्रमण भइसकेको छ।

सोमबार फाइजरले ओमिक्रोनविरुद्ध विशेष सुरक्षा प्रदान गर्ने खोपको नयाँ संस्करण आउँदो मार्चमा सार्वजनिक गर्ने बताएको थियो।
विज्ञहरुले भने त्यसको उपयोगिताको महत्त्व स्पष्ट नभएको बताएका छन्। –बीबीसीबाट