काठमाण्डौ । कोभिड महामारीपछि विश्वमा जसरी आर्थिक मन्दीको त्रास फैलिइरहेको छ । यहीबेला कतिपयले प्रश्न गर्न सक्छन्, लगातार प्रगति पथमा हिँडिरहेको यूरोपमा पनि आर्थिक मन्दी आउँछ ? वा, आउन लागेको हो ? कुनै पनि देश तथा त्यहाँका जनताहरुको आर्थिक अवस्था सुधार भइरहेको छ कि खस्किरहेको छ भन्ने विषय जाँच्ने केही आधारभूत मापदण्ड तथा सूचकहरु हुन्छन् । यस्तै आधारमध्ये एउटा हो गाडीहरुको बिक्रीको अवस्था । 
चिन्ताको विषय यो छ कि, यस वर्ष यूरोपमा गाडी बिक्रीको अवस्था निकै दयनीय बन्न पुगेको छ । त्यहाँ गाडी बिक्री पछिल्लो २६ वर्षकै कम रहेको रोयटर्सले जनाएको छ । 

समाचारअनुसार यो वर्षको जून महिनामा यूरोपमा कारको बिक्री सन् १९९६ पछिकै सबैभन्दा कम रहन पुग्यो । यो महिना यूरोपको बजारमा १० लाख हाराहारी कार मात्र बिक्री भए । यूरोपियन अटोमोवाइल एशोसिएसनमा सहभागी कतिपय कार कम्पनीहरुले आफ्नो बिक्रीमा ५० प्रतिशतको गिरावट आएको बताएका छन् । 

विभिन्न गाडी कम्पनीमध्ये सबैभन्दा बिजोग अवस्था भक्सवागेनको रहेको छ । अलग अलग ब्राण्डको नामबाट कार बिक्री गर्ने यूरोपको प्रमुख कार कम्पनी भक्सवागेनले बिक्रीमा सबैभन्दा ठूलो क्षति व्यहोर्न पुगेको छ । गत वर्षको जूनको तुलनामा यो जूनमा यो कम्पनीको कार बिक्रीमा एकचौथाईले घट्न पुगेको छ । 

यस्तै, सीमित युनिट कार मात्र बिक्री गर्ने कम्पनीको अवस्था पनि उस्तै बेहाल हुन पुगेको छ । जून महिनामा भोल्भोका कैयौं नयाँ गाडीको दर्ता करिब ४८ प्रतिशतले घटेको छ भने जाग्वार ल्याण्ड रोभर ग्रुपको बिक्रीमा १३.२ प्रतिशतले कम भएको छ । 

तीव्र रुपमा बढिरहेको महंगी, कार उत्पादकहरुले भोग्न थालेको सप्लाई चेनको समस्या, लामो वेटिङ पिरियड, चिपको अभाव लगायतका कारणले अटो क्षेत्रको बिक्री लगातार घटिरहेको छ । गत १२ महिनाअघिदेखि नै कारहरुको बिक्रीमा लगातार गिरावट रेकर्ड भइरहेको समाचारमा उल्लेख गरिएको छ । यूरोपको चारै ठूला बजार स्पेन, इटली, जर्मन र फ्रान्समै गाडीको बिक्री लगातार घटिरहेको छ ।

यूरोपमा गाडीको बिक्रीमा तीव्र गिरावट आइरहेको बेला नेपालको सबैभन्दा नजिकको छिमेकी भारतमा पनि उछाल आइरहेको छ । एक आँकडाअनुसार जून महिनामा भारतमा पेसेञ्जर भेइकलको बिक्रीमा १९.०६ प्रतिशतको बढोत्तरी भएको छ । दुई पांग्रे साधनको बिक्री पनि जून महिनामा २३.४ प्रतिशतको बढोत्तरी दर्ज भएको छ । 

नेपालले आफूलाई आवश्यक पर्ने सवारी साधन पनि भारतबाटै आयात गर्ने गर्छ । पछिल्लो समय नेपालमा समेत सवारी साधनको बिक्री बढिरहेको देखिन्छ । कोरोना कालमा त दुई पांग्रे सवारी साधनको बिक्रीमा नयाँ नयाँ रेकर्डहरु बनेका थिए ।