काठमाण्डौ । कम्पनीहरुले आफ्ना कर्मचारीलाई प्रोत्साहन गर्न विभिन्न प्रकारका प्रोत्साहन दिन्छन्। यसमा सेयरमा बोनस दिनेजस्ता प्रचलन पनि छन्। कहिलेकाहीँ कतिपय कम्पनीहरुले कर्मचारीलाई उनीहरुको कडा परिश्रमको बदलामा महँगो उपहार पनि दिन्छन्। 

चेन्नईको आईटी कम्पनी किसफ्लो इंकले पनि यस्तै आश्चर्य उपहार दिएको छ। कम्पनीले गत हप्ता राम्रो काम गर्ने ५ जना कर्मचारीलाई बीएमडब्ल्यू कार उपहार दिएको हो।

कम्पनीका सीईओ सुरेश सम्बन्दमले कोरोना महामारीका बेला अस्तित्वमा आएको संकटलाई पार गर्न र प्रतिकूल परिस्थितिमा पनि पैसा कमाउन मद्दत गर्ने ५ कर्मचारीलाई बीएमडब्ल्यू कार उपहारमा दिइएको बताए। गत शुक्रबार आयोजित एक कार्यक्रममा कम्पनीले ती कर्मचारीलाई भारु १ करोड रुपैयाँ लागतको बीएमडब्ल्यू कार हस्तान्तरण गरेको छ। 

यद्यपि कम्पनीले बीएमडब्ल्यू कार उपहारमा दिन लागेको विषयमा ती कर्मचारीलाई थाहा थिएन। उनलाई यो सरप्राइज गिफ्टका बारेमा केही घन्टा अघिमात्र थाहा भएको थियो।

सीईओ सम्बन्दमले बीएमडब्ल्यू कार उपहारस्वरुप दिएका ५ कर्मचारी कम्पनी स्थापनाकालदेखि नै आफूसँगै रहेको बताए। उनले उपहार प्राप्त गर्नेहरुमध्ये केही साधारण पृष्ठभूमिका रहेको र कम्पनीमा आबद्ध हुनु अघि धेरै चुनौतीहरु सामना गरेको बताए। उनले कम्पनी आफैँले पनि धेरै प्रतिकूल परिस्थितिको सामना गरेको बताए। 

कोभिड महामारीका बेला पनि कम्पनीका केही लगानीकर्ताले सफल सञ्चालनमा आशंका व्यक्त गरेका थिए। सम्बन्दमले भने, ‘हाम्रो अगाडि कठिन समय थियो। महामारीको समयमा पनि लगानीकर्तामा कम्पनी चल्ने हो कि भन्ने शंका थियो। आज हामी लगानीकर्ताको पैसा फिर्ता गरेर पूर्ण निजी कम्पनी बनेकोमा धेरै खुसी छौँ।’

पाँच भाग्यशाली कर्मचारीलाई कम्पनीका सीईओले बीएमडब्ल्यू ५३०डी मोडल उपहार दिएका छन्। नेभी ब्लू ५ सिरिजका यी कारको मूल्य भारु १–१ करोड रुपैयाँ छ। 

उपहार पाउने कर्मचारीहरुमा मुख्य उत्पादन अधिकारी दिनेश वरदराजन, उत्पादन व्यवस्थापन निर्देशक कौशिक्रम कृष्णसाई, निर्देशक विवेक मदुराई, निर्देशक आदि रामनाथन र उपाध्यक्ष प्रसन्न राजेन्द्रन थिए। – एजेन्सी