काठमाण्डौ । गत चैत १५ गते नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा चिप्लिएर घाँसेमैदानमा घस्रिएको नेपाल वायु सेवा निगमको चिनियाँ विमान मर्मतको सम्भावना शून्य बनेको छ। 

नेपाल नागरिक उड्डयन प्राधिकरणअन्तर्गत एयर वर्दिनेस डिपार्टमेन्टले गरेको अध्ययनअनुसार विमानको इन्जिनबाहेकका सबै संरचना क्षतिग्रस्त भएकोले मर्मतको शून्य सम्भावना रहेको हो। घटनामा मानवीय क्षति नभए पनि विमानका मुख्य पार्टपुर्जा नै काम नलाग्ने भएका छन्। प्राधिकरणका अनुसार अर्को नयाँ विमान किन्नेबराबरको खर्च लाग्ने भएकोले अब उक्त विमान मर्मत गर्ने सम्भावना नै छैन। 

उक्त विमानको इन्जिनमा भने कुनै क्षति पुगेको छैन। विमानको विङ, सेन्ट्रल बडी पार्ट र अन्य संरचना पूर्ण रूपले क्षतिग्रस्त भएको छ। 

निगमका वरिष्ठ क्याप्टेन केबी लिम्बू र को–पाइलट महेश पाण्डेले कलसाइन ९–एन–एकेयू भएको उक्त वाई–१२–ई चिनियाँ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगन्जका लागि उडान गरेका थिए। कोरोना संक्रमण भएको आशंका गरिएका बिरामीको स्वाबका नमुना संकलन गर्न विमान नेपालगन्ज पुगेको थियो। यो विमान मा तीजना चिकित्सकको टोली पनि सवार थिए। 

चार महिना अगाडि यही विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा कन्ट्रोल कलुम (टायरमा कसिएको बोल्टसँगै जडान गरिएको तार) चुँडिएको थियो। जुन विमानमा हुने रेयर समस्याका रूपमा मानिन्छ। 

पाँच वर्षअघि चीन सरकारले दुईवटा (एउटा एमए–६० र एउटा वाई–१२–ई) जहाज अनुदानमा दिएर चारवटा जहाज साढे तीन अर्ब रुपैयाँमा नेपाललाई बिक्री गरेको थियो।