काठमाण्डौ । विश्वभरका मानिसहरु लामखुट्टेको आतंकबाट हैरान हुने गरेका छन्। विभिन्न गम्भीर रोगहरुका कारक लामखुट्टेबाट बच्नका लागि मानिसहरुले अनेक उपायहरु अपनाउने गरेका छन्। तर हामी तपाइँलाई एउटा यस्तो देशका बारेमा बताउँदैछौँ, जहाँ खोजेर पनि लामखुट्टे पाइँदैन।

यो देश हो, उत्तर एटलान्टिक महासागरमा अवस्थित आइसल्यान्ड। वर्ल्ड एट्लसका अनुसार एकदमै कम जनसंख्या भएको यो देशमा करिब १ हजार ३०० प्रजातिका जीव पाइन्छन्। तर यसमा लामखुट्टे पाइँदैन। 

यो देशका छिमेकी देशहरु ग्रिनल्यान्ड, स्कटल्यान्ड र डेनमार्कमा भने लामखुट्टे प्रशस्तै पाइन्छन्। तर आइसल्यान्डमा लामखुट्टे नपाइनु कयौँ अनुसन्धानकर्ताहरुका लागि खोजको विषय बन्न पुुगेको छ। 

आइसल्यान्डमा लामखुट्टेको यो रहस्यका बारेमा कयौँ प्रकारका स्पष्टीकरणहरुसमेत दिइएका छन्। लामखुट्टेको विकासका लागि पोखरीहरु वा स्थिर पानीको सतह हुन आवश्यक हुने मानिन्छ। जहाँ लामखुट्टेले पारेको अन्डा लार्भामा बदलिन्छ र लार्भालाई एउटा विशेष तापक्रममा एउटा निश्चित अवधिका लागि स्थिर पानीको आवश्यकता पर्ने गर्दछ। यो पूरै चक्रका लागि आइसल्यान्डमा यस्तो कुनै पनि स्थिर जलको स्रोत लामो समयसम्म उपलब्ध हुने गर्दैन। जसबाट लामखुट्टेको विकास हुन सकोस्।

आइसल्यान्डमा लामखुट्टे नपाइनुको अर्काे कारण यहाँको तापक्रमलाई मान्ने गरिन्छ । यहाँको तापक्रम एकदमै न्यून हुने गर्दछ। जुन माइनस ३८ डिग्री सेल्सियससम्म झर्ने गर्दछ। यो तापक्रममा पानी सजिलै बरफमा बदिलिन्छ। जस कारण लामखुट्टेको प्रजनन असम्भव हुने गर्दछ। 

एउटा अर्काे सिद्धान्तका अनुसार आइसल्यान्डको पानी, माटो र साझा जैविक प्रणालीको रासायनिक संरचनाले लामखुट्टेको जीवनलाई समर्थन गर्दैनन्। 

यसका साथै सर्प र अन्य घिर्सने कीरा फट्यांग्राहरुका लागि पनि यहाँको जलवायु अनुकूल छैन। जसका कारण सर्पलगायतका यस्ता जीवहरुसमेत यहाँ पाइँदैनन्। 

यो देशको एकमात्र लामखुट्टे आइसल्यान्ड इन्स्टिच्युुट अफ नेचुरल हिस्ट्रीको एउटा प्रयोगशालामा संरक्षित छ। यो लामखुट्टेलाई सन् १९८० को दशकमा आइसल्यान्डका जीव वैज्ञानिक मार गिल्लासनले आइसल्यान्ड हवाई जहाजको क्याबिनमा भेटाएका थिए। जसलाई सुरक्षित गरी प्रयोगशालामा राखिएको छ। 

आइसल्यान्डमा मिज कीरा भने पाइन्छन्। जुन लामखुट्टेजस्तै देखिन्छन् र समान रुपमा टोक्ने गर्दछन्। तर यो कीरा लामखुट्टेको तुलनामा कम आक्रामक हुन्छन्। लामखुट्टेले कपडा बाहिरबाट पनि टोक्न सक्छन् तर यो कीराले नांगो छालामा मात्रै टोक्न सक्छ। – एजेन्सीको सहयोगमा