काठमाण्डौ । यसपटक कुनै पनि बैंकले आफ्ना लगानीकर्तालाई दशैंअघि बोनस नखुवाउने निश्चित देखिएको छ । 

न्यून संख्याका बैंक तथा वित्तीय संस्थाहरुले मात्र गत आर्थिक वर्षको ब्यालेन्ससिट अप्रूभलका लागि नियामक राष्ट्रबैंकमा पठाएका र त्यहाँबाट कुनै पनि बैंकको ब्यालेन्ससिट शुक्रबारसम्म स्वीकृत नभइसकेकोले यो पटक दशैंअघि कुनै पनि बैंकका सेयरधनीले दशैंखर्चको रुपमा बोनस वा नगद नपाउने देखिएको हो । 

गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण सबैभन्दा छिटो प्रकाशन गरेको सिटिजन्स बैंक इन्टरनेशनलले समेत २ दिनअघि मात्र ब्यालेन्ससिट अप्रूभलका लागि पठाएको राष्ट्रबैंकस्थित स्रोतले जनाएको छ । ‘यो बैंकको वित्तीय विवरण अप्रूभल हुन पनि केही दिन लाग्ने देखिन्छ ।’ स्रोतले भन्यो–‘अरु अधिकांशको ब्यालेन्ससिट नै अप्रूभलका लागि आइपुगेको छैन । तसर्थ यसपटक कुनै पनि बैंकका सेयरधनीले दशैंअघि बोनस वा नगद पाउने छैनन् ।’ 

गत वर्षको वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको मितिले कम्तीमा २१ दिनपछि मात्र साधारणसभा बोलाउने र त्यहाँबाट पारित गर्नुपर्ने व्यवस्थाले समेत यसपटकको दशैंमा सेयरधनीको हात खालि हुने देखिएको हो । किनभने अर्को सातासम्म ब्यालेन्ससिट अप्रूभल यदि कुनै बैंकको भइहाल्यो भने पनि उसले लाभांश घोषणा गरेर दशैंअघि एजीएम गर्न र लगानीकर्ताको खातामा बोनस वा नगद पठाउन संभव देखिन्न । 

यसअघिका वर्षहरुमा भने दशैंअघि नै कतिपय बैंकले बोनस खुवाउने गरेका थिए । त्यस्ता संस्थाका सेयरधनी पनि दशैं खर्चको रुपमा बोनस आउने भन्दै उत्साहित हुने गर्थे । कोभिडका कारण थिलथिलो बनेको अर्थतन्त्र र अस्तव्यस्त बनेको बैंकिङ विजिनेश लगायतका कारणले यो वर्ष दशैंअघि बोनस पाउने अवस्था नदेखिएको हो । 

राष्ट्रबैंकका अनुसार दशैंअघि बोनस पाउने अवस्था नरहे पनि केही बैंकले भने लाभांश घोषणा गर्नसक्नेछन् । ‘दशैंअघि लाभांश घोषणा गरेर तिहारअघि एजीएम गरी बोनस वितरण गर्नसकिने अवस्था चाहिँ बन्नसक्छ ।’ राष्ट्रबैंकका अधिकारीले भने–‘यो पनि अत्यन्त कम बैंकको हकमा मात्र होला ।’