– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । यो साता ५ दिन सेयर कारोबार भएको छ। आज शुक्रबार जनैपूर्णिमा र गाईजात्रा परेकोले सार्वजनिक बिदा दिइएको छ।

यो साताको ५ कारोबार दिनमा ४ दिन बजार घट्यो भने १ दिनमात्र बढ्यो। साताभरि बजारमा ११ अर्ब ७० कारोड रुपैयाँभन्दा बढीको कारोबार भयो। अघिल्लो साता झन्डै २३ अर्ब रुपैयाँको कारोबार भएको थियो। यस हिसाबले यो साता सेयर बजारमा अघिल्लो साताको तुलनामा आधामात्रै कारोबार भएको छ। 

अघिल्लो साता २११३.५५ को विन्दुमा बन्द भएको बजार यो साता घटेर २०३७.९२ को विन्दुमा बन्द भएको छ। साताभरि बजारमा ७५.६३ अंकको गिरावट आएको छ। अघिल्लो साता पनि बजारमा २७ अंकको गिरावट आएको थियो। 

प्राविधिक पक्ष 

सुपर ट्रेन्डका आधारमा

सुपर ट्रेन्डका आधारमा अघिल्लो साता बुलिस रहेको बजार यो साता बियरिस देखिएको छ। यो साता मूल्यरेखाले सुपर ट्रेनडलाई माथिबाट काटेर तल झरेको छ। योसँगै सुपर ट्रेन्डको रङ पनि हरियोबाट रातो भएको भएको छ। (हेर्नुहोस् कालो एरो)

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधारमा 

यो साता दैनिक चार्टमा बोलिंगर ब्यान्डको मध्य ब्यान्डलाई मूल्यरेखाले काटेर तल झरेको र तल्लो ब्यान्डतर्फ आकर्षित भएको छ।  (हेर्नुहोस् कालो एरो)

त्यसैगरी म्याक्डीमा पनि एमएसीडी लाइनले सिग्नल लाइनलाई गत ७ अगस्टमा माथिबाट काटेर बियरिस क्रसओभर भएको छ। (हेर्नुहोस् रातो एरो) 

आरएसआई पनि ६७ को विन्दु ओभर बट जोनबाट झरेर ४१ को जोनमा आएको छ। यस हिसाबले आरएसआई ३० को ओभर सोल्ड जोनतर्फ आकर्षित भएको देखिन्छ। बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईको संयुक्त विश्लेषणमा यो साता बजारमा बियरिस यात्रा तय भएको देखिन्छ। 

फिवोनासी सिद्धान्तका आधारमा 

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो। जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गरेको हुन्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ। यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन्।  

यदि आगामी दिनमा बजार घटेमा ०.२३ प्रतिशतको टेवामा २१५१ को विन्दुसम्म, ०.३८ प्रतिशतको टेवामा २१०६ को विन्दुसम्म, ०.५ प्रतिशतको टेवामा २०७० को विन्दुसम्म र ०.६१ प्रतिशतको टेवामा २०३१ को विन्दुसम्म आउन सक्ने देखिन्छ। 

पिभटका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

प्रतिरोध १– २१८९
प्रतिरोध २– २२६४
प्रतिरोध ३– २३०४

पिभट प्वइन्टः २१४८

घटेमा सपोर्ट

सपोर्ट १– २०७२
सपोर्ट २– २०३२
सपोर्ट ३– १९६५

इचिमोकुका आधारमा 

इचिमोकुअन्तर्गतको चार्टमा यदि मूल्यरेखाले क्लाउड पोजिसनलाई मािथबाट काट्छ भने बियारिस मुमेन्टम र यसको ठीकविपरीत तलबाट काटेर माथि जान्छ भने बुलिस मुमेन्टम हुन्छ। यो साता नेप्सेको आवरली चार्टमा इचिमोकुअन्तर्गत मूल्यरेखाले क्लाउड पोजिसनलाई माथिबाट काटेर बियरिस मुमेन्टम देखिएको छ। (हेर्नुहोस् कालो एरो) 

यसअघि गत ५ अगस्टमै कन्भर्जन लाइनले बेस लाइनलाई माथिबाट काटेर बजारमा बियरिस क्रसओभर बनेको थियो। 

निष्कर्ष

साप्ताहिक रुपमा अघिल्लो साता २७ अंकले घटेको बजारमा यो साता ७५ अंकको गिरावट आएको छ। यो हिसाबले साप्ताहिक रुपमा बियरिस क्यान्डल बनेको छ। म्याक्डी, बोलिंगर ब्यान्ड र सुपर ट्रेन्डले बजारको यात्रा बियरिस नै देखाएको छ। इचिमोकुमा पनि बजारको बियरिस मुमेन्टम नै देखिएको छ। यस हिसाबले आगामी साता पनि बजार साइडवेजमा नै चल्न सक्ने सम्भावना देखिन्छ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।