– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साता सेयर बजारमा ६ दिन कारोबार भएको छ। बजार ४ दिन घट्यो भने २ दिन बढेको छ। 

गत साता २०६८.२६ मा बन्द भएको बजार यो साता २०२२.६२ मा बन्द भएको। यो हिसाबले यो साता बजारमा ४५.६४ अंकले गिरावट आएको छ। गत साता बजार ३०.३४ अंकले बढेको थियो। 

यो साता सूचक र कारोबार दुवैमा गिरावट आएको छ। यो साता बजारमा ९ अर्ब २१ करोड रुपैयाँबराबरको कारोबार भएको छ। गत साता १० अर्ब ३५ करोड रुपैयाँबराबरको भएको थियो। अघिल्लो साता बजार झन्डै १२ रुपैयाँबराबरको कारोबार भएको थियो। यो हिसाबले कारोबार पनि विस्तारै सुस्ताउँदै गएको देखिन्छ। 

प्राविधिक पक्ष 

क्यान्डल स्टिकका आधारमा 

यो साता बनेको नेप्सेको रातो क्यान्डल स्टिकले  गत साता बनेको हरियो क्यान्डललाई पूरै ढाकेको छ। यदि रातो क्यान्डलले हरियो क्यान्डललाई ढाक्छ भने बियरिस इन्गल्फिङ बनेको हुन्छ। यसविपरीत यदि रातो क्यान्डललाई हरियो क्यान्डलले ढाक्छ भने त्यो बुलिस इन्गल्फिङ  हुने गर्छ। 

दुई सातामा बनेका क्यान्डललाई मिलाए हेर्ने हो भने बियारिस इन्गल्फिङ क्यान्डल बनेको देखिन्छ। अर्थात गत साता बनेको क्यान्डलको बडीभन्दा यो साता बनेको क्यान्डलको बडी लामो देखिन्छ (हेर्नुहोस् कालो एरो)। यसको भ्यालिडिटी भने ८५ प्रतिशत रहेको छ।  

बोलिंगर ब्यान्ड, म्याक्डी र आरएसआईका आधार 

नेप्सेको दैनिक चार्टमा बोलिंगर ब्यान्डमार्फत हेर्दा मूल्यरेखाहरुले मध्य ब्यान्डमै प्रतिरोध सामना गरेको देखिन्छ। गत ८ अगस्टदेखि तल झरेका मूल्यरेखाहरु माथि जान नसकेको देखिन्छ। यसले बजार कमजोर रहेको देखिन्छ। 

म्याक्डीमार्फत हेर्दा बजार हिस्टोग्राम नेगेटिभ नै रहेको देखिन्छ। विगत दुई कारोबार दिनमा हिस्टोग्रामहरु बोल्ड बनेको देखिन्छ। आरएसआई पनि घट्दो क्रममा ४१ को तहमा देखिन्छ। 

तीनवटै इन्डिकेटरलाई संयुक्त रुपमा मिलाएर हेर्दा बजार केही कम्मजोर बनेको देखिन्छ। 

मुभिङ एभरेजका आधारमा 

मुभिङ एभरेजका आधारमा बजारको अवस्था नियाल्दा यदि मूल्यरेखाभन्दा ५० दिने मुभिङ रेखा   तल झरेमा बजारमा बिक्रीचाप तथा सो रेखाभन्दा माथि गएमा बजार खरिदचाप परेको  बुझिन्छ। हाल मुभिङ एभरेजले यसलाई काटेर तल झरेको छ (हेर्नुहोस् मुख्य तस्बिरमा कालो एरो)। यसले बजारमा बिक्रीचाप परेको देखिन्छ। 

यसअघि मुभिङ एभरेजको लाइनभन्दा माथि ७ वटा क्यान्डल बनेका थिए। जुन यो साताको दुई कारोबारमा बनेको क्यान्डलहरु मुभिङ एभरेजको लाइनभन्दा तल झरेका छन्। 

पिभट प्वइन्ट

  • प्रतिरोध १– २१०१
  • प्रतिरोध २– २१३५
  • प्रतिरोध ३– २१८२

पिभट प्वइन्टः २०५४

घटेमा सपोर्ट 

  • सपोर्ट १– २०२०
  • सपोर्ट २– १९७३
  • सपोर्ट ३– १९३९

निष्कर्ष 

यो साता नेप्सेको साप्ताहिक र दैनिक  चार्टमार्फत हेर्छौं भने बजारमा  बियरिस क्याण्डलहरु बनेको देखिन्छ। बजार लामो समय माथि जान खोजेको तर नसकेको अवस्था देखिन्छ। बजार बढ्नेभन्दा घट्ने दिनहरु बढी देखिन्छ। गत साताको तुलनामा यो साता कम भोलुम आएको देखिन्छ। आवरली टाइम फेरेममा हेर्ने हो भने रातो मारुबुजु क्यान्डलपछि इन्भर्टेड ह्याम्मर बनेको छ। यो भ्यालिड हुनलाई आगामी कारोबारमा २०१८ भन्दा माथि–माथि नै कारोबार भएर बजारले बुलिस मारुबुजु क्यान्डल बनाउनुपर्ने हुन्छ। यो अवस्थामा भने बजारले माथिको यात्रा पनि तय गर्न सक्नेछ। अन्यथा आगामी साता पनि बजार साइडवेजमै रहन सक्छ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषण हो। यसको अर्थ सेयर बजारमा हामीले यही नै हुन्छ भनेर ठोकुवा गरेका होइनौँ। लगानीकर्ताले आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेर लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।