काठमाण्डौ । विश्वमै कुख्यात आतंकवादी संगठन इस्लामिक स्टेट(आइएस)को आधार क्षेत्र पछिल्ला महिनाहरुमा खुम्चिन थालेको छ । उसले कब्जा गरेको तेल उत्पादनको क्षेत्र समेत साँघुरो बन्दै गएको छ । तर यी सबै समस्याका बाबजुद पनि यो संगठन विश्वकै सबैभन्दा धनी आतंकवादी संगठन बन्न सफल भएको छ । सेन्टर फर द एनलाइसिस अफ टेरोरिजम नामक संस्थाले जारी गरेको नयाँ रिपोर्ट अनुसार आइएससँग अहिले पनि २ सय करोड डलरको साम्राज्य छ । जबकि यो संगठनलाई पछिल्लो समय लगातार रुपमा आर्थिक क्षति भइरहेको छ । 

रिपोर्ट अनुसार सन् २०१५ को सुरुवातमा आइएससँग २४० करोड डलरको साम्राज्य थियो । अमेरिकन सेनालाई उद्धृत गर्दै बताइएअनुसार त्यसपछि अहिलेसम्म यो संगठनले करिब ४० करोड डलर आम्दानी हुने क्षेत्र गुमाउनु परेको छ । अमेरिकी बायुसेनाको मद्धतबाट इराक र सिरियाका कयौं आइएसका आधार इलाकाहरु उनीहरुको कब्जाबाट मुक्त गराइसकिएको छ । यसबाट आइएसले धेरै ठूलो तेल उत्पादन क्षेत्र गुमाउनुपर्यो र तेलबाट भइरहेको आम्दानी समेत गुमेका कारण उसलाई ठूलो घाटा लाग्यो । त्यति मात्र होइन, यो संगठनलाई ८० लाख डलर कर तिर्ने ठूला व्यापारी र व्यवसायी समेत यो संगठनको कब्जाबाट फुत्किन सफल भएका छन् । यिनै कारण यो संगठनलाई एक वर्षमा ४० करोड डलर घाटा भएको हो । 
त्यसो त लगातार घटिरहेको आम्दानीलाई कभर गर्न आइएसले आफ्नो आधार इलाकामा रहेका सर्वसाधारणहरुलाई अनेक तरहको कर लगाउने गरेको छ । ती इलाकाहरुमा दाह्री काटेको देखि लिएर परेला मिलाएको कर समेत सर्वसाधारणले तिर्नुपर्ने नियम लगाइएको छ । नयाँ करका साथमा पहिलादेखि लाग्दै आएको कर समेत कयौं गुणा बढाइएको छ । 

आइएस आधार क्षेत्रमा १० प्रतिशत आय कर, १५ प्रतिशत व्यवसाय कर, १५ प्रतिशत सडक कर, बैंकबाट पैसा निकाल्दा ५ प्रतिशत कर, औषधिको व्यवसायमा ३५ प्रतिशतसम्म कर लगाउने गरिएको छ । गैर सुन्नी मुस्लिमहरुबाट समेत यो संगठनले मोटो रकम करको रुपमा असूल्न थालेको छ । 

यो संगठनले जब–जब तेल खानीहरु गुमाउँदै गयो र ठूलो आम्दानी हातबाट फुत्किदै गयो, तब–तब अनेक तरहको कर थोपरेर लागेको घाटा कम गर्ने प्रयासलाई जारी राखेको छ । रिपोर्ट अनुसार सन् २०१४ मा आइएसको इलाका क्षेत्रमा बस्नेहरुसँग असूलिने करबाट वार्षिक आम्दानी ३६ करोड डलर थियो । तर तेलबाट आम्दानी घटेपछि व्यक्तिलाई लगाइने कर यति धेरै बढाइयो कि, अब त्यस्तो करबाट मात्र यो संगठनलाई सन् २०१५ मा ८० करोड डलर आम्दानी भएको छ । 

रिपोर्टका अनुसार तेलको इलाकाबाट यो संगठनलाई हुने आम्दानी कुल आम्दानीमा साबिकमा हुने योगदान ३८ प्रतिशतबाट घटेर ३३ प्रतिशतमा झरेको छ भने करबाट आउने आम्दानी साबिकको १२ प्रतिशतबाट बढेर ३३ प्रतिशत पुगेको छ । 

बिजशाला / एजेन्सी