काठमाण्डौ । विश्वभर माइक्रोचिपको कमीका बाबजुत इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाको आम्दानी र नाफाले चालु वित्त वर्षको तेस्रो त्रैमासमा नयाँ रेकर्ड कायम गरेको छ। 

टेस्लाको सेयरमा पनि लगातार उछाल आइरहेको छ। यो वर्ष टेस्लाको सेयर १८ प्रतिशतले बढिसकेको छ। 

टेस्लाका सीईओ एलन मस्कको सम्पत्ति तीव्रगतिमा बढिरहेको छ। यो वर्षमात्रै उनको सम्पत्ति ७२ अर्ब डलरले बढिसकेको छ। 

सम्पत्तिमा तीव्रगतिमा आइरहेको बढोत्तरीले एलन मस्क विश्वकै पहिलो ट्रिलिनेयर बन्ने सम्भावना बढ्दै गइरहेको छ। अर्थात आउने दिनहरुमा उनको सम्पत्ति १ लाख करोड डलर पुग्ने सम्भावना छ। 

मोर्गान स्ट्यान्लीका एनालिस्ट एडम जोन्सका अनुसार मस्कको कम्पनी स्पेसएक्सको विकासको सम्भावना निकै छ। सोही कारण मस्क विश्वकै पहिलो ट्रिलिनेयर बन्ने सम्भावना बढेको जोन्स बताउँछन्। 

तेस्रो त्रैमाससम्म टेस्लाको खुद आम्दानी १.६२ अर्ब डलर रहेको छ। अघिल्लो त्रैमासमा कम्पनीको खुद आम्दानी ३३.१ करोड डलर रहेको थियो।

ब्लुमबर्ग बिलिनेयर्स इन्डेक्सका अनुसार मस्कको सम्पत्ति २४२ अर्ब डलर पुगिसकेको छ। उनले विश्वका धनीहरुको सूचीमा अमजेनका संस्थापक जेफ बेजोसलाई पनि पछि पारिसकेका छन्। 

मस्कको सम्पत्ति बिल गेट्स र वारेन बफेटको कुल सम्पत्तिको तुलनामा धेरै रहेको छ। गेट्स १३३ अर्ब डलरको सम्पत्तिका साथ विश्वका धनीको सूचीमा चौथो स्थानमा र बफेट १०५ अर्ब डलरका साथ १० औँ स्थानमा छन्। – एजेन्सी