काठमाण्डौ। सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले ‘सेयर मन्त्र’ नामक सेयर बजारसम्बन्धी नयाँ किताब बजारमा ल्याएका छन्। 

हिजो आइतबार आमाका हातबाट फेसबुकार्फत भट्टराईले आफ्नो नयाँ किताब सार्वजनिक गरेका हुन्। यो किताबले सर्वसाधारणमा सेयर बजारसम्बन्धी रहेका विभिन्न प्रकारका भ्रमलाई चिर्ने भट्टराईले दाबी गरेका छन्। जस्तो सेयर बजारमा पैसा बनाउन निकै चलाख हुनुपर्छ भन्ने एउटा भ्रम छ। त्यस्तै सेयर र जुवाका बारेमा अर्को भ्रम रहेको छ। पोर्टफोलियो बनाउने कुरामा भ्रम छ। बजार घट्दा जोखिम हुन्छ भन्ने भ्रम छ। त्यस्तै महिलाले लगानी गरेर पैसा बनाउन सक्दैनन् र लगानी भनेको पुरुषले गर्ने हो भन्ने अर्को भ्रम पनि रहेको छ।

लगानीकर्ता वा सेयर बजारमा यस्ता अनेकौँ भ्रमहरु रहेका छन्। जसलाई चिर्न, लगानीप्रति सर्वसाधारणलाई उत्प्रेरित गर्न, राम्रो प्रतिफलका लागि सेयर छनोट गर्ने र पोर्टफोलियो बनाउने रणनीति सिकाउने मन्त्रहरु प्रदान गर्न यो पुस्तक सहयोगी हुने विश्वास गरिएको छ। 

आफ्ना अन्य पुस्तकभन्दा यो पुस्तक विल्कुलै फरक रहेको भट्टराई बताउँछन्। उनले यसअघि नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, सेयरबाट करोडपतिजस्ता सेयर बजारसम्बन्धी पुस्तकहरु लेखिसकेका छन्। 

त्यस्तै सेयर बजारसम्बन्धी आशा नामक चलचित्र निर्माण र दोहोरी गीतसमेत भट्टराईले ल्याएका छन्। यी चलचित्र र दोहोरी गीत युट्युबमा हेर्न र सुन्न सकिन्छ।