काठमाण्डौ । यूरोपियन यूनियनका नेताहरुले यो वर्षको अन्तसम्ममा रसियाबाट आयात हुने कच्चा तेलमा ९० प्रतिशतसम्मको कटौति गर्ने सहमति गरेलगत्तै अन्तराष्ट्रिय बजारमा तेलको मूल्यमा भारि वृद्धि भएको छ । 

रसियाबाट आउने कच्चा तेलमा प्रतिबन्ध लगाउन इयूमा भएको सहमतिलगत्तै मंगलबार नै यूएस क्रूड फ्यूचरको मूल्यमा ३.७६ प्रतिशतको उछाल आई प्रति ब्यारेल ११९.३९ डलर पुगेको छ । 

यस्तै, ब्रेन्ट क्रूडको मूल्य १.९३ प्रतिशतले बढेर प्रतिब्यारेल १२४.०२ डलर पुगेको छ ।

अगस्ट महिनाका लागि भएको तेल खरीद सम्झौतामा समेत मूल्य बढेको छ । यूएस क्रूडको मूल्य ३.८३ प्रतिशत र ब्रेन्ट क्रूडको मूल्य २.१६ प्रतिशतले बढेर सम्झौता भएको एजेन्सीहरुले उल्लेख गरेका छन् । 

यूरोपियन काउन्सिलका प्रेसिडेन्ट चाल्र्स माइकलले इयूका नेताबीच भएको सहमतिले  रसियन तेलको आयातमा तत्कालै ७५ प्रतिशतसम्मको नेगेटिभ प्रभाव पर्नेछ । 

यूरोपियन यूनियनका सदस्य राष्ट्रहरुले आयात गर्ने कच्चा तेलमध्ये करिब ३६ प्रतिशत रसियाबाटै आयात हुने गरेको छ । रुसमाथि इयूबाट लागेको यो प्रतिबन्धले यूरोपियन बजारमा पेट्रोलियम पदार्थको मूल्य अझै माथि पुग्ने र यसले महङ्गी दरलाई बढाउन सहयोग गर्नेमा चिन्ता व्यक्त गर्न थालिएको छ ।