– अर्जुन तिमिल्सिना

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। गत सोमबार दसैँको घटस्थापना परेका कारण सार्वजनिक बिदा दिइएकोले सेयर बजारमा पनि बन्द रहेको थियो। 

चार दिनको कारोबारमा बजार १ दिन घट्यो भने ३ दिन बढ्यो। गत साता १८३८.९६ मा बन्द भएको बजार यो साता बजार १८५३.७६ को विन्दुमा बन्द भएको छ। समग्रमा यो साता बजार १४.८ अंकले बढेको छ। गत साता भने बजार ७१.४२ अंकले गिरावट आएको थियो। 

यो साता बजारमा २ अर्ब ६९ करोड ४७ लाख रुपैयाँबराबरको मात्र कारोबार भएको छ। यस्तो कारोबार गत साता ३ अर्ब ९१ करोड ६३ लाख रुपैयाँबराबरको भएको थियो। 

यस हिसाबले यो साता सूचकमा बढोत्तरी आयो भने कारोबार रकम भने १ अर्ब २२ करोड रुपैयाँभन्दा बढीले कमी आएको छ। 

प्राविधिक पक्ष 

राउन्डिङ बटम 

सेयर बजारको उतारचढावलाई ग्राफमा प्रस्तुत गर्दा बनेको न्यूनतम विन्दुहरुलाई जोड्दा बन्ने आकृतिलाई राउन्डिङ बटम भनिन्छ। अर्थात अझ सहज भाषामा सबैले बुझ्ने गरी भन्नु पर्दा हामीले घामपानी पर्दा ओड्ने छातालाई उल्टो बनाएर आकाशतर्फ फर्काउँदाजस्तो आकृति बन्छ, त्यसलाई राउन्डिङ बटम (गोलाकार न्यूनतम विन्दु) भनिन्छ। यसले आगामी दिनमा बजार बढ्न संकेत गर्छ। (हेर्नुहोस् मुख्य तस्बिरमा) 

अघिल्लोपटकको बियरिस यात्रालाई हामीले ग्राफमा प्रस्तुत गर्ने हो भने २३ अप्रिल २०१७ बाट खस्न सुरु गरेको बजारले १८ मार्च २०१८ मा ११४८ को विन्दुमा पहिलो बटम, १७ फेब्रुअरी २०१९ मा १०९८ को विन्दुमा दोस्रो बटम र १७ नोभेम्बर २०१९ मा ११०५ को विन्दुमै तेस्रोपटक बटम बनाएर बजारमा लगभग तीनगुणाको बढोत्तरी ३२०० को विन्दुसम्म बजार बढेको छ। 

के होला दसैँपछिको बजार ?

सेयर बजारको भविष्यवाणी र भूकम्पको पूर्वानुमान उस्तै–उस्तै नै हो। किनकि यहाँभित्र स–साना वेभहरु चलिरहेका हुन्छन्। यही समय र दिन भनेर तोक्न कठिन छ। तर, पनि अघिल्लोपटकको बियरिस बजारलाई आधार मानेर भन्छौँ भने बजारले २९८० को विन्दुदेखि नै  राउन्डिङ बटम तय गर्दै गरेको देखिन्छ।  पछिल्लोपटक बजारले २२२३ देखि खस्न सुरु गरेर १८०० को आसपामा  (पहिलेको ११०० जस्तै) आधार बनाउँदै गरेको हुन सक्छ। योबीचमा बजारले १८०० देखि २२०० सम्म धेरैपटक केही समय लिएर न्यून गोलाकार विन्दु अर्थात राउन्डिङ बटम पनि बनाउन सक्छ। अघिल्लोपटकको समयलाई आधार मानेर भन्ने हो भने बजारले अब ६ महिनादेखि एक वर्षको समय लिएर पुनः नयाँ अल टाइम हाईको यात्रा तया गर्न सक्छ। जसको उचाइ भनेको राउन्डिङ बटमको दुईदेखि तीनगुणासम्म हुन सक्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)

बोलिंगर ब्यान्डका आधारमा यो साताको बजारले ब्यान्डको न्यून विन्दुमा सपोर्ट लिएर मध्य ब्यान्डतर्फ आकर्षित भएको देखिन्छ। (हेर्नुहोस् कालो एरो) 

त्यसैगरी म्याक्डीमा पनि एमएसीडी लाइनले सिग्नल लाइनलाई तलबाट काट्न सुरु गरेको देखिन्छ। तर, बुलिसक्रस भने यो साता पनि भएको छैन। आरएसआईमा २६ को जोनबाट बजार फर्केर ३७ को जोनमा पुगेको छ। 

आगामी कारोबारमा यदि अघिल्लोपटकको विन्दु ४७ भन्दा माथि पुगेमा बजारले मागीको यात्रा तय गर्दै गरेको बुझिन्छ। 

पिभट विश्लेषण

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको अधिकतम, न्यनूतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ।

बढेमा प्रतिरोध 

  • प्रतिरोध १– २१४२
  • प्रतिरोध २– २३११
  • प्रतिरोध ३– २३९८

पिभट प्वइन्टः २०५५

घटेमा सपोर्ट 

  • सपोर्ट १– १८८६
  • सपोर्ट २– १७९९
  • सपोर्ट ३– १६३०

निष्कर्ष

यो साता बजार अघिल्लोपटककै न्यून विन्दु १८०६ सम्म आएर बजार सम्हालिन खोजेको देखिन्छ। साप्ताहिक क्यान्डल स्टिक चार्टमा बजारले सानो र छोटो ह्याम्मर क्यान्डल बनाएको छ। यसले ट्रेन्ड रिभर्सलको संकेत गर्छ। म्याक्डीमा बुलिस क्रस हुन क्रममा देखिन्छ। यदि आगामी कारोबारमा बजारले म्याक्डीमा बुलिस क्रस र बोलिंगर ब्यान्डको मध्य विन्दुलाई ब्रेक गरेर माथि गएमा बजारले माथिको यात्रा तय गर्दैै गरेको बुझिनेछ। यसका लागि बजार १९०० को विन्दुभन्दा माथि–माथि कारोबार हुनुपर्नेछ। 

नोट : सेयर बजारमा प्राविधिक विश्लेषण एक औजारमा आधारित अनुमानित विश्लेषणमात्र हो। लगानीकर्ताले लगानी गर्दा आफ्नो जोखिम लिन सक्ने क्षमता र कम्पनीको वित्तीय अवस्था हेरेरमात्र लगानी गर्नुपर्छ। यो कुनै कारोबारका लागि सिफारिस भने होइन।