काठमाण्डौ ।  भारतीय सेयर बजारका बिग बुल भनेर चिनिने दिग्गज लगानीकर्ता राकेश झुनझुनवालाको ६२ वर्षको उमेरमा आज निधन भएको छ। उनले मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा अन्तिम सास लिए। 

झुनझुनवालाले विगत दुई दशकको अवधिमा पैसाबाटै पैसा बनाए, कुस्त कमाए। भारतका वारेन बफेटको उपमा समेत पाएका झुनझुनवालाले सेयर बजारबाटै करोडौँ कमाए। उनी बेला–बेला आफ्ना फलोअर्सहरुलाई लगानीको टिप्ससमेत दिने गर्थे। उनका टिप्स फलो गरेर धेरैले सेयर बजारबाट कमाएका पनि छन्। 

अब झुनझुनवाला सम्झनामा मात्र रहे पनि उनका पछिल्ला केही टिप्सहरुका बारेमा जानकारी दिन गइरहेका छौँ, जसलाई अनपाएर सेयरमा लगानी गरी मनग्य कमाउन सकिन्छ। 

लगानीपछि धैर्य गरौँ 

राकेश झुनझुनवाला सधैं लामो अवधिको लगानीमा ध्यान दिने गर्थे। उनले प्रायः बजारका नयाँ लगानीकर्ताहरुलाई लामो अवधिका लागि लगानी गर्न सुझाउने गर्थे। उनको भनाइ थियो, ‘छोटो समयमा थोरै रिटर्न पाइन्छ तर आज गरिएको सानो लगानीबाट ठूलो रिटर्न पाउन पर्याप्त समय दिनुपर्छ। आफूले बजारमा लगाएको पैसालाई परिपक्व हुन समय दिनुपर्छ।’ यो रणनीतिअनुसार केही समय अवश्य पर्खिनुपर्छ तर केही समय पर्खिंदा रिटर्नको ग्यारेन्टी हुन्छ। 

मूल्य होइन, कम्पनीको भ्यालू हेर्नुपर्छ

राकेश झुनझुनवालाका अनुसार कुनै पनि कम्पनीको सेयर मूल्यले तपाईले त्यसमा लगानी गर्नुपर्छ या लगानी गर्नुहुँदैन भन्ने कुरा तय गर्दैन। मूल्य हेरेर लगानीको निर्णय पनि लिनुहुँदैन। बरु कम्पनीको भ्यालूले बढी महत्व राख्छ। कतिपय मानिस धेरै मूल्य भएको सेयर खरीद गर्न रुचाउँछन् तर यो गलत रणनीति हो। कुनै पनि कम्पनीले बितेको १ वा ५ वर्षमा कस्तो वित्तीय प्रदर्शन गरेको छ भन्ने कुरा जाँच गर्न आवश्यक छ। किनकि कम्पनीको आउटलुक राम्रो छ भने सेयर बजारमा गिरावट आए पनि त्यस्ता कम्पनीबाट राम्रो रिटर्न पाउन सकिन्छ। 

अरुलाई हेरेर पैसा नलगाउनु

सेयर बजारको लगानी बैंकमा गरिएको लगानीजस्तो सधैँ सुरक्षित हुँदैन। सेयर बजारबाट धेरै ठूलो रिटर्न पाउन सकिन्छ भने यहाँ जोखिम पनि उति नै ठूलो हुन्छ। त्यसकारण लगानी गर्नुअघि सम्बन्धित कम्पनीको विषयमा पूरा जानकारी संकलन गर्नुपर्छ। कुनै पनि सेयरमा अरुले पैसा लगाए भन्दैमा पैसा लगाउनु हुँदैन। त्यसो गरिए फस्न पनि सकिन्छ। कतिपय अवस्थामा आफूले फलो गर्ने मान्छेले नोक्सानी उठाउन सक्छ तर हामीले यो काम गर्न सक्दैनौँ। त्यसकारण अरुलाई फलो गर्ने बानी छाड्नुपर्छ। 

क्यासको सरप्लसलाई ध्यान दिनुपर्छ

सेयर बजारमा कुनै पनि कम्पनीले राम्रो प्रदर्शन गरिरहेको छ भने यो निश्चित हुँदैन कि त्यस्ताले राम्रो रिटर्न नै दिनेछन्। त्यसकारण लगानीअघि कम्पनीको ब्याकग्राउन्ड जाँच गर्न आवश्यक हुन्छ। यसका लागि उक्त कम्पनीले कति लाभांश वितरण गरेको छ भन्ने विगत चेक गर्नुपर्छ। किनकि लाभांशले सेयर बजारमा निकै ठूलो महत्व राख्छ। यदि कुनै पनि कम्पनीले लामो समयदेखि लाभांश वितरण गरिरहेको छ भने यसको अर्थ हुन्छ त्यो कम्पनीसँग क्यासको कुनै कमी छैन। क्यास सरप्लस भएको कम्पनीले सधैं राम्रै प्रदर्शन गरिरहेका हुन्छन्।

एकैपटक सबै पैसा लगानी नगरौँ 

आफूसँग सेयर बजारमा लगानीका लागि धेरै नै पैसा हुनसक्छ। तर, आफूसँग भएको सबै पैसा एकैपटक लगानी गरिहाल्न आवश्यक हुँदैन। एकैपटक धेरै ठूलो पैसा खन्याएर ठूलै मुनाफा बुक गर्ने इच्छा सबैको हुन्छ तर सेयर बजारमा लगानीको नियमले यस्तो भन्दैन। यहाँ त थोरै–थोरै पैसा विस्तारै–विस्तारै लगानी गर्दै अगाडि बढ्नुपर्छ। कुनै एउटा कम्पनीको सेयरमा पैसा लगाइरहेको समयमा हामीले गर्ने कुल लगानी रकमलाई विभिन्न हिस्सामा बाँड्नुपर्छ र समय–समयमा खरिददारी गर्नुपर्छ। सेयर मूल्यमा गिरावट आइरहेको छ भने पनि खरिददारी जारी राख्नुहोस्। यसले खरिदको औसत घट्न जान्छ।

कम्पनीको ऋण(दायित्व) पनि हेर्नुपर्छ

सेयर बजारमा लगानी गर्नलाई कुनै पनि कम्पनीको ऋण(दायित्व) कति छ भन्ने कुरा पनि हेनुपर्छ। यदि कुनै पनि कम्पनीको दायीत्व कम छ भने त्यस्ता कम्पनीलाई क्यास(नगद)को कम दबाब हुन्छ। यदि दायित्व धेरै छ भने कम्पनीको मूल्यमा जुनसुकै समयमा ठूलो उतारचढाव आउनसक्छ। यसकारण लगानी गर्नुअघि कम्पनीको दायित्वको समेत राम्रोसँग समीक्षा गर्नुपर्छ। –एजेन्सी